माईजोगमाई। माईजोगमाई गाउँपालिका–३स्थित नामसालिङ्गमा रहेको शैक्षिक संस्था नामसालिङ्ग माध्यमिक विद्यालयले आफ्नो हिरक जयन्ती (७५औं स्थापना दिवस) धूमधामका साथ मनाउने तयारी गरेको छ । विद्यालय स्थापना भएको ७५ वर्ष पूरा भएको अवसरमा विद्यालयले आउँदो कात्तिक २६ देखि २९ गतेसम्म बिभिन्न सांस्कृतिक, शैक्षिक, खेलकुद तथा सामाजिक कार्यक्रमको साथमा विशेष महोत्सवको आयोजना गर्ने तयारी गरेको छ ।
हिरक जयन्ती समारोह सफल बनाउन विद्यालय प्रशासन, शिक्षक–शिक्षिका, पूर्वविद्यार्थी, अभिभावक तथा सरोकारवाला बीच सक्रिय छलफल र तयारी कार्य भइरहेको विद्यालयका प्रधानाध्यापक प्रदिप देवले जानकारी दिए । हिरक जयन्ती समारोहमा देश–विदेशमा रहेका पूर्वविद्यार्थीलाई पनि आमन्त्रण गरिने भएको छ । कार्यक्रम अन्तर्गत विद्यालयले नामसालिङ्ग माविसँग सम्बन्धित इतिहास, उपलब्धि र योगदानबारे लेखिएका रचनाहरु समेटिएको विशेष स्मारिका पनि प्रकाशन गरी सार्वजनिक गर्ने तयारी गरेको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष यज्ञनिधि अधिकारीले बताए ।
विद्यालय समुदायले हिरक जयन्तीलाई विद्यालयको गौरवमय इतिहासको सम्मान मात्र नभई आगामी दिनमा शैक्षिक क्षेत्रको दिशा तय गर्ने अवसरका रुपमा उपयोग गर्ने विश्वास व्यक्त गरेका छन् । हिरक जयन्तीलाई भब्य रुपमा सम्पन्न गर्न आर्थिक सहयोग जुटाउने कार्य पनि भइरहेको बताइएको छ । यस्तै हिरक जयन्ती मनाउन बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष यज्ञनिधि अधिकारीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ भने बिभिन्न ९ वटा उप समिति गठन गरिएको विद्यालयले जनाएको छ।