अलैंचीले राम्रो मूल्य पाएपछि किसानमा उत्साह

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाली अलैंचीले पछिल्लो समय विदेशी मुद्रा आर्जनमा उल्लेखनीय योगदान दिइरहेको छ। विशेषगरी पहाडी जिल्लाका किसानका लागि यो नगदेबाली आम्दानीको मुख्य स्रोत बन्न थालेको छ।

हाल बजारमा प्रतिमन ९० देखि ९५ हजार रुपैयाँमा कारोबार भइरहेको अलैंचीको सिजन भएकाले किसानहरू अहिले गोडमेल, बगान सरसफाइ र फूल लागेका दाना संरक्षणमा व्यस्त छन्।

इलाम उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण पौड्यालका अनुसार यो वर्ष पछिल्लो १० वर्षको तुलनामा सर्वाधिक मूल्य पाएको वर्ष हो। उनका अनुसार ०७९ सालमा प्रतिमन ३२ हजार रुपैयाँमा कारोबार भएको अलैंची मंसिर–पुसमा प्रतिमन एक लाख १० हजार रुपैयाँसम्ममा पुगेको थियो।

पौड्यालले इलाम जिल्लाबाट मात्र वार्षिक तीन अर्ब रुपैयाँ बराबरको अलैंची निर्यात हुने अनुमान गरेका छन्।

सन्दकपुर गाउँपालिका–२ का किसान गिरिराज खनालका अनुसार अलैंची खेती कम लागतमा बढी आम्दानी लिन सकिने उपयुक्त विकल्प हो। १० वर्ष वैदेशिक रोजगारी गरेर फर्किएका खनालले ४५ रोपनीमा अलैंची खेती गर्दै आएका छन्। उनले यो वर्ष अघिल्लो वर्षको तुलनामा दोब्बर आम्दानी भएको जानकारी दिए।

स्थानीय तहको वडाध्यक्षसमेत भइसकेका खनालले वर्षैभर दुई जनालाई स्थायी र सिजनमा पाँच सय जनासम्मलाई रोजगारी दिन सफल भएको बताएका छन्। उनका अनुसार प्रत्येक तीन वर्षमा नयाँ बिरुवा लगाउने अभ्यासले उत्पादनमा वृद्धि र रोगको नियन्त्रण गर्न सकिन्छ।

अलैंची खेती इलामका सीमित किसानसम्म मात्र सीमित छैन। देशभर ५४ जिल्लामा फैलिएको यो खेती हाल १४ हजार ३८३.५ हेक्टर क्षेत्रफलमा विस्तार भएको छ। अलैंची विकास केन्द्रका प्रमुख राजन परियारका अनुसार विशेष गरी कोशी प्रदेशका पहाडी जिल्लाहरू—इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, भोजपुर र धनकुटामा उत्पादन बढी हुन्छ। यद्यपि, खेती गर्ने किसानको निश्चित तथ्यांक भने उपलब्ध छैन।

सन् २०८१/८२ मा मात्रै सात अर्ब ६७ करोड रुपैयाँभन्दा बढी मूल्यको ४२ लाख किलोभन्दा धेरै अलैंची निर्यात भएको मेची भन्सार कार्यालयको तथ्यांकले देखाउँछ।

यसबाट प्रस्ट हुन्छ—अलैंची खेती नेपाली कृषकका लागि आम्दानी, स्वरोजगार र विदेशी मुद्रा आर्जनको एक सशक्त माध्यम बन्दै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *