आर्थिक वर्ष २०८१/०८२ मा मेची भन्सार कार्यालयमार्फत झापाको काँकडभिट्टाबाट चार अर्ब २१ करोड ३५ लाख रुपैयाँभन्दा बढीको तयारी चिया निर्यात भएको छ।
मेची भन्सारका अनुसार अघिल्लो आर्थिक वर्ष ०८०/०८१ को तुलनामा २०८१/०८२ मा चिया निर्यातमा ३२.२ प्रतिशतले वृद्धि भएको हो। पछिल्लो वर्ष १ करोड ५४ लाख १६ हजार ७५६ किलो तयारी चिया विदेश पठाइएको थियो, जसबाट तीन अर्ब १७ करोड ९५ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको थियो।
व्यवसायीहरूका अनुसार गत आर्थिक वर्षमा निर्यातमा उल्लेख्य बाधा नरहेकाले, साथै अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको माग उच्च रहेकाले निर्यात वृद्धि भएको हो। उनीहरू भन्छन्, “कोभिड–१९ महामारीका कारण केही वर्ष कमजोर बनेको चियाको निर्यात पछिल्लो समय फेरि सशक्त हुँदै गएको छ।”
सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका महासचिव गोपाल कट्टेलका अनुसार चिया किसानले यो वर्ष केही सन्तोषजनक मूल्य पाएका छन्। हरियो पातको प्रतिकिलो मूल्य ४० देखि ६० रुपैयाँसम्म पुगेको उनले जानकारी दिए। यद्यपि, उनले किसानका लागि सरकारी सहयोगको अभाव रहेको गुनासो पनि गरे।
इलामका चिया उद्योगहरूमा यतिबेला भारतसहित तेस्रो मुलुकका व्यापारीहरूको चहलपहल बढेको छ। जस्बिरेस्थित एक चिया कारखानाका सञ्चालक गृष्म सुब्बाका अनुसार भारतको सिलिगुडी, डुवर्सलगायत क्षेत्रबाट व्यापारीहरू इलाम आएर चिया परीक्षण र खरिदमा सक्रिय छन्। “व्यापारीहरूको माग अनुसार चिया आपूर्ति गर्न हम्मे–हम्मे पर्छ,” उनले भने।
हाल चिया टिपाइको मध्य सिजन चलिरहेको छ। चैतदेखि असोजसम्म चल्ने यो सिजनको मुख्य भाग वर्षायाममा पर्ने भए पनि चैत–वैशाखको चिया गुणस्तरमा अझै उत्कृष्ट मानिन्छ। उच्च गुणस्तरको अर्गानिक प्रमाणीकरण प्राप्त चिया मुख्यतः तेस्रो मुलुकतर्फ निर्यात हुँदै आएको व्यवसायीहरूको भनाइ छ।
युरोप, अमेरिका, जापान, रुस लगायत देशमा नेपाली चियाको माग बढ्दो छ। इलामका जस्बिरे, सूर्योदयको गोर्खा टी स्टेट, फाकफोकथुमको तीनजुरे, कञ्चनजंघा टी, हिमालयन सांग्रिला, साखेजुङको ग्रिनहिल टी इन्ड्रस्ट्रीज लगायतका उद्योगहरूले उत्पादन गरेको चिया मुख्यतः तेस्रो मुलुकतर्फ निर्यात हुने गरेको छ। बाँकी अन्य कारखानाबाट भने भारततर्फ पनि उल्लेख्य मात्रामा चिया पठाइने गरिएको छ।