कन्याम।
इलाम जिल्लाको सूर्योदय नगरपालिका–७ निवासी रोम घले (राम ब. घले) हाल गम्भीर स्वास्थ्य समस्याबाट जुधिरहेका छन्। उनलाई प्रोस्टेट क्यान्सरको समस्या देखिएपछि भरतपुर क्यान्सर अस्पतालमा शल्यक्रिया (अप्रेशन) गरिएको हो।
यसअघि घलेलाई उपचारका लागि बिएण्डसी अस्पताल र आम साई पाथीभरामा समेत लगिएको थियो। तर पछिल्ला दिनमा दम (सास फेर्न समस्या) बढेपछि उनलाई मेची प्रादेशिक अस्पताल भद्रपुरमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि अस्पतालले फेरि उनलाई भरतपुर क्यान्सर अस्पतालमा रेफर गरेको हो।
परिवारका अनुसार रोम घलेको उपचारमा हालसम्म झण्डै १५ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका उनका छोराले विगतदेखि नै उपचार खर्च व्यहोर्दै आएका छन्। तर निरन्तर खर्च बढ्दै गएपछि परिवार आर्थिक संकटमा परेको छ।घरमा रहेका भाइ पनि बिरामी रहेका कारण उपचारको सारा जिम्मेवारी आमाको कमाइमा भर परेको छ। यस्तै अवस्थामा रोमको जीवनरक्षाका लागि आर्थिक संकलन अभियान सुरु गरिएको स्थानीय अमृत कटुवालले जानकारी दिनुभयो।
कटुवालका अनुसार विभिन्न मनकारी व्यक्ति र सामाजिक संस्थाहरूमाझ सहयोगको अपिल गर्दै अभियान सञ्चालन गरिएको छ। उनले सबैलाई मानवताको नाताले सकेको सहयोग गर्न आग्रह गर्नुभएको छ।
