रौतहट, रौतहटमा सुटकेसभित्र शव भेटिएकी रूबीकुमारी साहको हत्या आरोपी युवकको पनि मृत्यु भएको छ ।
जलेर घाइते अवस्थामा भेटिएका लक्ष्मण पासवानको बुधबार उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले उनलाई बुधबार बिहान जलेको अवस्थामा भेटेर नियन्त्रणमा लिएको थियो ।
उनलाई उपचारका लागि काठमाण्डूको कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाण्डूका एपसी अपिलराज बोहराले लक्ष्मणको उपचारका क्रममा मृत्यु भएको बताए ।
माधवनारायण नगरपालिका–६ रौतहटका पासवानले रुबीकुमारीको हत्या आफूले गरेको स्वीकार गरेका थिए । उनले जल्नुअघि गरेको भिडियो रेकर्ड पनि प्रहरीले भेटेको छ ।
२६ वर्षीया रुबीको शव शनिबार राति गौर नगरपालिका–९ मुडवलबा गेट नजिकै सुटकेसमा प्याक गरिएको अवस्थामा फेला परेको थियो । भारतमा विवाह गरेकी उनी माइतीघर रौतहटको माधवनारायण नगरपालिका–६ माधवपुर बस्दै आएकी थिइन् ।