इलाम, साउन १ — वैदेशिक रोजगारीका लागि मिडल इस्ट पुगेका सूर्योदय नगरपालिका–७, गोगनेका ३५ वर्षीय लेखनाथ खतिवडाको उपचारकै क्रममा निधन भएको छ।
जेठ ५ गते मात्रै एफजेठ मास्ट इन्जिनियरिङ कम्पनीमा काम गर्न दुवई पुगेका खतिवडा असार ८ गतेदेखि विरामी परेका थिए। सुरुमा सेतो रक्तकोष (White Blood Cell) को कमी देखिएपछि अस्पताल भर्ना गरिएका उनलाई पछि निमोनिया समेत देखिएको थियो। स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि आईसीयूमा राखेर उपचार गरिएको थियो।
दुवईस्थित एआई रोसिड अस्पतालमा असार २८ गते निधन भएका लेखनाथको अन्त्येष्टि साउन २ गते शुक्रबार बिहान ९ बजे स्थानीय (मालुम जाने बाटो) मा गरिने पारिवारिक स्रोतले जनाएको छ।
उपचार खर्च अत्यधिक भएपछि उनका परिवारले आर्थिक सहयोगका लागि सार्वजनिक अपिल गरेका थिए। “लाखौं संकलन गर्यौं, तर लेखनाथलाई बचाउन सकिएन,” परिवारका लिलाधर खतिवडाले दुःख व्यक्त गरे।