इलाम — प्रमुख जिल्ला अधिकारीका रूपमा हालै इलाम आएकी सुनिता नेपालले जिल्लाका सञ्चारकर्मीहरूसँग समसामयिक विषयमा छलफल गरेकी छन्। छलफलका क्रममा पत्रकारहरूले जिल्लामा देखिएका विभिन्न समस्याबारे जानकारी गराउँदै सुधारको माग गरेका थिए।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष सोमनाथ सुसेलीले नेपाल–भारत खुला सिमानाका कारण बढ्दो तस्करी र लागूऔषध ओसारपसार नियन्त्रणमा कडाइ गर्नुपर्ने बताए। महासंघ इलाम शाखाकी पूर्व अध्यक्ष कोकिला ढकालले प्रहरी–प्रशासनले सूचना सम्प्रेषणमा चुस्तता ल्याउनुपर्ने सुझाव राखिन्।
महासंघ इलाम शाखाका सचिव टीका खतिवडाले इलाम–झापा बीच चल्ने सवारीसाधनले तोकिएको भन्दा बढी भाडा असुल्ने गरेको जनाउँदै यसबारे प्रशासनले चाँडो कारबाही गर्नुपर्ने माग गरे। उनले इलामदेखि फिक्कल र फिक्कलदेखि विर्तामोडसम्म हाल लिइँदै आएको भाडा कानुनसम्मत नभएको बताए।
वरिष्ठ पत्रकार विजयशेखर भट्टराईले जिल्लामा विकास निर्माणका काम अव्यवस्थित देखिएको भन्दै प्रशासनले ठेकेदारको काममा निगरानी बढाउनुपर्ने धारणा राखे। ठेकेदार र कोलेनिकाबीच समन्वय अभावले गुणस्तरीयता गुमेको उनले उल्लेख गरे।
महासंघका सदस्य मनिष बस्नेतले भालुखोप–लक्ष्मीपुर–थाक्ले–खुदुनाबारी ९ किलोमिटर सडकको स्थिति सुधार गर्न माग राखे। कोषाध्यक्ष भगीरथ भण्डारीले सडक निर्माणमा प्रयोग हुने ढुङ्गा गिट्टी हाइड्रो परियोजनामा लगाइएको गुनासो गरे।
कार्यक्रममा महासंघका सदस्य सविता पाण्डे, सुनिता मगरलगायतले पनि विभिन्न समसामयिक विषयमा धारणा राखेका थिए।
सञ्चारकर्मीका सुझावपछि प्रजिअ नेपालले प्रशासनका तर्फबाट अनुगमन र नियन्त्रणका काम प्रभावकारी बनाउने प्रतिबद्धता जनाइन्। “सबैभन्दा आवश्यक कुरा इमान्दारिता हो। इमान्दारिता गुमेपछि सबै क्षेत्रमा समस्या देखिन्छ,” उनले भनिन्, “आज आएका सुझावहरूका आधारमा सम्बन्धित निकायसँग छलफल गरी समाधानको बाटो खोजिनेछ।” साथै, सञ्चारकर्मीलाई आवश्यक सूचना प्रदान गर्न प्रशासन सधैं तयार रहने प्रतिबद्धता उनले दोहोर्याइन्।
छलफलमा इलामका प्रहरी प्रमुख एसपी एकनाथ घिमिरे, शसस्त्र प्रहरीका एसपी लोकेन्द्र सुवेदी, महासंघका सहसचिव बलराम बराइली, सदस्य योगेन्द्र शंकर, खेमराज ढकाल, प्रकाश नेपाल, गणेश घिमिरे लगायतको उपस्थिति रहेको थियो।