निजी गाडी प्रयोग गरी ब्राउन सुगर ओसारपसार तीव्र

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

झापा जिल्लाका सीमावर्ती नाकाहरू हुँदै हाल निजी सवारी साधन प्रयोग गरेर प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ओसारपसार बढ्दै गएको देखिएको छ। पछिल्ला पाँच दिनमा मात्र दुईवटा निजी कारसहित ६ जना पक्राउ परेका छन्।

बुधबार दिउँसो भद्रपुर नगरपालिका–७ मा एक हुन्डाई क्रेटा कारमार्फत लागुऔषध ओसारिरहेको सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्दा गाडीभित्र २०० ग्राम ३९० मिलिग्राम ब्राउन सुगर फेला पारेको हो। पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढीका साजन तामाङ (३१), सजिन लामा (३०), दीपेश लामा (३३) र राम तामाङ (२३) रहेका छन्।

प्रहरीका अनुसार उनीहरू भारतबाट लागूऔषध खरिद गरी काठमाडौँ फर्किने क्रममा थिए। उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ भने जिल्ला अदालतबाट सात दिनको म्याद थप भइसकेको प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खडकाले जानकारी दिए।

यसअघि असार ७ गते भद्रपुर–५ स्थित भन्सार गेट नजिकै अर्को घटनामा काठमाडौँ जान लागेका काठमाडौंका निवेश कुवेर (२४) र लमजुङकी नोजिना राना (२२) पक्राउ परेका थिए। उनीहरूबाट ४७ ग्राम ६९० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो।

त्यस्तै, वैशाख ३१ गते गौरीगञ्ज गाउँपालिका–३ बाट १०० ग्राम ०९० मिलिग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ परेका थिए। पक्राउ पर्नेमा दमकका भूपेन्द्र राई, भारतका भोला ठाकुर र मोनाजिर आलम रहेका थिए। उनीहरूबाट एक ह्युन्डाई कार र एक भारतीय नम्बर प्लेटको मोटरसाइकल पनि बरामद भएको थियो।

झापा प्रहरीले हाल निजी गाडी प्रयोग गरेर भारत सीमाबाट लागुऔषध ल्याउने र पहाडी क्षेत्रतर्फ लैजाने क्रम बढिरहेको जनाउँदै नियन्त्रणका लागि निगरानी बढाएको छ।

प्रहरीका अनुसार, पछिल्लो तीन आर्थिक वर्षको तथ्यांकले ब्राउन सुगर बरामद दर निरन्तर बढिरहेको देखाएको छ।

  • २०७९/८० मा: १,५५८ ग्राम ४५९ मिलिग्राम

  • २०८०/८१ मा: २,१७४ ग्राम १९५ मिलिग्राम

  • २०८१/८२ (चालु वर्ष) मा हालसम्म: २,००५ ग्राम १६५ मिलिग्राम

प्रहरी कार्यालय झापाका एसपी राजन लिम्बूका अनुसार, लागुऔषध कारोबारमा संलग्नहरू जिल्ला बाहिरबाट आएर गाडीमार्फत लागूऔषध ल्याउने र वितरण गर्ने रणनीति अपनाइरहेका छन्। प्रहरी त्यसअनुसार निगरानी र कारबाहीमा सक्रिय रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *