बाढी पहिर‍ोका कारण कोशीका ४ जिल्लामा यातायात अवरुद्ध

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

यस वर्षको  मनसुन सुरु भएलगत्तै कोशीका विभिन्न क्षेत्रमा भारी वर्षा हुँदा बाढी, पहिरो र कटानका कारण कोशीका ४ जिल्लामा सडक क्षतिग्रस्त बनेका छन्। कतिपय स्थानमा बाढीले सडक बगाएको छ भने कतै पहिरो खसेर अवरोध भएको छ।

प्रहरीका अनुसार इलाम, सुनसरी, उदयपुर र धनकुटाका विभिन्न सडक अवरुद्ध भएको हो। ती जिल्लाका विभिन्न सडक खण्ड अवरुद्ध बनेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

इलामको माई नगरपालिका–७ मा महमाई–इलाम–लारुम्बा पक्की सडक खण्डमा पहिरो खसेको छ। धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित नमस्ते झरना छेउमा पहिरो झर्दा कोशी लोकमार्ग अवरुद्ध बनेको छ।

धनकुटाकै साँगुरीगढी गाउँपालिका–५ डाँडाबजार, लुम्फाजुङ, कुहिभिर, ढाडे डाँडामा पहिरो गएको छ। पहिरोका कारण रवि–राँके सडक अवरुद्ध बनेको छ। धनकुटाकै चौबिसे गाउँपालिका–४ मा निर्माणाधीन सडक खण्डको छरुवा खोलामा बाढी आउँदा तमोर करिडोर अवरुद्ध बनेको छ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित कोशी लोकमार्गमा रुख लडेर अवरोध भएपछि सेना, प्रहरी र स्थानीय बासिन्दा मिलेर रुख हटाइएको छ।

यस्तै, सुनसरीको बराहक्षेत्र नगरपालिका–१ नयाँ पुल खोलामा पहिरो झर्दा चतरा–बराहक्षेत्र सडक अवरुद्ध भएको छ। उदयपुरमा बेलका नगरपालिका–८ कोठु खोलामा कच्ची सडक खण्डमा पहिरो झर्दा मैनामैनी–चुहार–भोजपुर सडक अवरुद्ध बनेको छ।

भारी  वर्षाका कारण पहिरो झर्ने, बाढीले कटान गर्ने जस्ता घटना भइरहेका छन्। झापामा माई खोलाले कटान गरेको छ। केही बस्तीमा बाढी पसेपछि स्थानीय बासिन्दा विस्थापित समेत हुन पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *