सामाजिक यथार्थमा आधारित नेपाली चलचित्र ‘ऊनको स्वीटर’ को ट्रेलर सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत ट्रेलर सार्वजनिक गरिएको हो।
ट्रेलरमा उमेर पुगेका युवायुवतीबीचको आकर्षण, प्रेम, दुई फरक जातबीचको सम्बन्धले समाजमा निम्त्याउने उथलपुथल र त्यसले ल्याएको विनाश चित्रण गरिएको छ। जात व्यवस्थाले प्रेमलाई छेक्न नसक्ने यथार्थलाई फिल्मले उजागर गर्न खोजेको देखिन्छ।
कार्यक्रममा चलचित्रका अभिनेता विपिन कार्की, अभिनेत्री परीक्षा लिम्बू, नव–कलाकार एलेक्स पारस, कलाकार माओत्से गुरुङ, निर्देशक नवीन चौहानलगायतको उपस्थिति थियो। चलचित्र ‘ऊनको स्वीटर’ वैशाख २६ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ।
यथार्थवादी शैलीमा निर्माण गरिएको यस सामाजिक कथानक चलचित्रमा विपिन कार्की र मिरुना मगर प्रमुख भूमिकामा छन्। त्यस्तै विल्सन विक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायत कलाकारको अभिनय रहेको छ।