सूर्योदय नगरपालिकामा एक महिनामै करिब १,००० जनाले लिए राष्ट्रिय परिचयपत्र सेवा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 सूर्योदय नगरपालिकास्थित दर्ता स्टेशनबाट एक महिनाभित्र करिब १,००० जनाले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिएका छन्। नगरपालिकाका अनुसार चैत ३ गतेदेखि सुरु गरिएको यस सेवाबाट वैशाख १५ सम्ममा ९४९ जनाले सेवा लिएका हुन्। तीमध्ये ४८९ पुरुष र ४६० महिला छन्। साथै, अन्य स्थानीय तहका ७५ जनाले पनि यहींबाट सेवा लिएका छन्।

नगरपालिकाका अनुसार वडा नं. १ बाट १२६, २ बाट ६९, ३ बाट ७८, ४ बाट ९२, ५ बाट ८२, ६ बाट ३८, ७ बाट १६, ८ बाट ६१, ९ बाट ५१, १० बाट १४२, ११ बाट २७, १२ बाट ५६, १३ बाट १६ र वडा नं. १४ बाट २० जनाले सेवा लिएका छन्।

यस सेवा केन्द्रबाट राष्ट्रिय परिचयपत्रको फाराम भर्ने, बायोमेट्रिक विवरण दिनुका साथै तस्बिर खिचाउने सुविधा प्रदान गरिन्छ। यसअघि जिल्ला प्रशासन कार्यालय, सदरमुकाममै मात्र उपलब्ध यो सेवा सूर्योदय नगरपालिकाबाट थालनी गरिएको हो। केही दिनयता देउमाई नगरपालिकाको मंगलबारेस्थित इलाका प्रशासन कार्यालयबाट पनि सेवा विस्तार गरिएको छ।

फाराम भरेर बायोमेट्रिक प्रक्रियापछि सेवाग्राहीले तत्कालै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गर्न सक्छन्, जसले गर्दा परिचयपत्रको वास्तविक कार्ड प्राप्त नभएसम्म पनि उक्त नम्बर प्रयोग गरी विभिन्न सरकारी सेवा लिन सकिने व्यवस्था गरिएको छ। हाल बैंक खाता खोल्नेदेखि अन्य धेरै सरकारी तथा निजी काममा राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर अनिवार्य भएकाले सेवा केन्द्रहरूमा दैनिकजसो भीड देखिएको छ। यही आवश्यकतालाई मध्यनजर गर्दै सूर्योदय र मंगलबारेमा सेवा विस्तार गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *