काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराई-मधेश जागरण अभियानपछि अब सिंगो मधेश माओवादी र प्रचण्डमय भएको दाबी गरेका छन्।
माओवादी सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्र नयाँ एकताको आधार बन्दै गइरहेको बताए। उनले आजै माओवादी घटकको दुई पार्टीबीच एकताका लागि वार्ता हुने जानकारी दिए।
प्रचण्डले भने, “म आज अलि हतारमा छु, दुई माओवादी घटकसँग एकताको विषयमा कुरा गर्न अहिले नै जाँदैछु। वार्ताको नेतृत्व मैले नै गर्दैछु, फेरि हामी एकताको नयाँ प्रक्रियातिर जाँदैछौं।”
उनले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा गरेका कामले पार्टीप्रति आकर्षण बढेको पनि बताए।