कक्षा १२ को परीक्षा स्थगित गरिएको छ। बैशाख ११ देखि तय भएको कक्षा १२ को परीक्षा स्थगित गरिएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार अहिलेलाई वैशाख ११ को परीक्षा सार्ने निर्णय भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएपछि बोर्डले उक्त निर्णय गरेको हो ।
बालुवाटार पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका हुन् ।
यसअघि परीक्षा बोर्डले आजै तोकिएको समयमै परीक्षा गर्ने निर्णय गरेको थियो । निजामती कर्मचारीलाई परिचालन गरेर भएपनि परीक्षा गर्ने निर्णय गरेको बोर्ड प्रधानमन्त्रीको निर्देशनपछि ब्याक हटेको हो ।
निजामती कर्मचारीलाई परीक्षा सञ्चालनका लागि प्रयोग गर्ने बोर्ड निर्णयको कर्मचारी युनीयनहरुले समेत विरोध गरेका थिए ।
प्रधानमन्त्री ओलीले स्थिति जटिल बनेको भन्दै केही समय सार्न निर्देशन दिएका हुन् ।सोही अनुसार बोर्डले बैठक बसेर परीक्षाको नयाँ मितिबारे जानकारी गराउने जनाएको छ ।
बोर्डका अध्यक्ष शर्माले परीक्षा सार्ने निर्णय भएको र आजै बैठक बसेर नयाँ मिति तोक्ने जानकारी गराएका छन् ।
बोर्डको आज बिहान बसेको बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको थियो ।
बोर्डले प्रमुख जिल्ला अधिकारीले प्रत्येक परीक्षा केन्द्रमा जिल्लाका निजामती कर्मचारीलाई परिचालन गरेर निर्धारित समयमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेसँगै आन्दोलनरत शिक्षक आक्रोशित भएका थिए । बोर्डको निर्णय सार्वजनिक भएलगत्तै आज दिउँसो बानेश्वरमा भएको आन्दोलनलाई सम्बोधन गर्दै शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन निरन्तर जारी रहने तथा शिक्षकहरुलाई परीक्षामा संलग्न नहुन निर्देशन दिएका थिए ।
‘राष्ट्रिय परीक्षा बोर्डले निजामती कर्मचारी र सुरक्षाकर्मी परिचालन गरेर परीक्षा सञ्चालन गर्ने भनेको रहेछ। हामी कोही परीक्षामा सहभागी हुँदैनौं र केन्द्रमा निर्देशन दिन पनि म आग्रह गर्दछु। परीक्षा पनि उनीहरुले नै लिउन्, कापी पनि उनीहरुले नै जाँचुन् ।’उनले भने ।