नवलपुरको बौदीकाली गाउँपालिका–१ अर्मलेमा बाबुआमाको कुटपिट र लछारपछारबाट चार महिनाका शिशुको ज्यान गएको छ।
नवलपुर प्रहरीका अनुसार ३५ वर्षीय दीपेन्द्र परियार र उनकी २१ वर्षीया पत्नी कमला परियारले सोमबार राति मादक पदार्थ सेवन गरी आफ्ना चार महिनाका शिशुलाई लछारपछार गर्दा शिशु गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते शिशुलाई हजुरबुबाले स्थानीयको सहयोगमा पाल्पाको रामपुर अस्पताल लगिएको थियो। तर उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका बाबुआमाले शिशुलाई घरको बरन्डामा गम्भीर अवस्थामा छाडेर भागेका थिए। अहिले शिशुको हत्या अभियोगमा बाबु दीपेन्द्र र आमा कमलालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ।