इलाम सदरमुकामका केहि फार्मेसीमा प्रशासनको ताला

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

इलाम,  इलाम सदरमुकामका फार्मेसीहरूमा गरिएको आकस्मिक संयुक्त अनुगमनका क्रममा नियमविपरीत सञ्चालन भइरहेका केही फार्मेसीहरू बन्द गरिएका छन्। जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय इलाम, इलाम नगरपालिका, जिल्ला प्रहरी कार्यालय तथा औषधि व्यवस्था विभागको टोलीले गरेको निरीक्षणमा तीनवटा फार्मेसीमा तालाबन्दी गरिएको हो।

 सम्पन्न अनुगमनका क्रममा आठवटा फार्मेसीमध्ये तीनवटा फार्मेसीमा अनुमतिपत्र बिना औषधि बिक्री वितरण भइरहेको भेटिएको थियो। स्वास्थ्य मापदण्ड नपुगेका ती फार्मेसीहरूलाई तत्काल बन्द गर्न निर्देशन दिँदै ताला लगाइएको हो।

स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यका अनुसार, “सामान्य नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै यस्तो अनुगमन आवश्यक भएको हो।” उनका अनुसार औषधि बिक्री वितरणमा तोकिएको मापदण्ड पालना नगर्दा गम्भीर स्वास्थ्य समस्या आउन सक्ने भएकाले अनुगमनलाई तीव्रता दिइएको हो।

अनुगमन टोलीले फार्मेसीहरूको दर्ता प्रमाणपत्र, नवीकरण अवस्था, औषधिको भण्डारण प्रक्रिया, बिक्री वितरण प्रणाली तथा कार्यरत जनशक्तिको योग्यता जस्ता विषयमा विस्तृत परीक्षण गरेको थियो। ताला लगाइएका फार्मेसीहरूलाई आवश्यक कागजात तथा स्पष्टीकरणसहित कार्यालयमा उपस्थित हुन भनिएको छ। अब नियमअनुसार कारबाही प्रक्रिया अघि बढाइने शाक्यले जानकारी दिए।

यस अनुगमनपछि इलामका अन्य फार्मेसी सञ्चालकहरूलाई पनि नियम र मापदण्डको पालना गर्न थप सचेत गराउने अपेक्षा गरिएको छ। जिल्ला प्रशासन कार्यालयले यस्ता अनुगमनलाई निरन्तरता दिइने जनाउँदै, नागरिकको स्वास्थ्यमा खेलबाड गर्न खोज्ने जोकोहीलाई कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *