काठमाडौं । संगीतको ऐतिहासिक परम्परा बोकेको इलाम जिल्लाबाट उत्कृष्ट प्रतिभाहरू उदाउँदै गरेका छन् । यसरी नै धेरै पुराना र नयाँ कलाकारहरूले संगीत क्षेत्रमा इलामको पहिचान बढाएका छन् । हाल नेपाली रियालिटी शो द भ्वाइस अफ नेपाल (सिजन ६) को फाइनल चरणमा इलामका युवा गायक प्रमेश राई पुगेका छन् ।
रोङ गाउँपालिका, वडा नं. ६ सलकपुर निवासी प्रमेश राईले यस प्रतियोगितामा कोच राजु लामाको टिमबाट फाइनलमा स्थान बनाएका छन् । उनले डिजिटल राउन्ड, ब्लाइन्ड राउन्ड र लाइभ राउन्डमा उत्कृष्ट प्रदर्शन गरी फाइनलसम्मको यात्रा पूरा गरेका हुन् ।
साधारण किसान परिवारमा जन्मिएका प्रमेशले संगीतको औपचारिक शिक्षा २०७५ सालदेखि लिन थालेका हुन् । उनले झापाको बिर्तामोडस्थित सरगम संगीतालय बाट दीपक रायमाझीसंग तालिम लिएका थिए भने हाल काठमाडौंको धुन कला केन्द्र मा कैलाश राईको मार्गदर्शनमा संगीत सिक्दै छन् । संगीतमा नै व्याचलर गर्दै गरेका प्रमेशले आफ्नो जिल्लावासीहरूलाई उनीहरूको भोटबाट उनलाई जिताउन अपील गरेका छन् ।
स्थानीय नेतृत्वले पनि प्रमेशलाई समर्थन गरेका छन् । रोङ गाउँपालिकाका अध्यक्ष मनीकुमार स्याङ्बोले उनलाई “देशकै उत्कृष्ट प्रतिभा” बताउँदै फाइनल जित्ने विश्वास व्यक्त गरेका छन् ।
याद गरौं, गत सिजनको उपाधी पनि इलामकै विनोद राईले जितेका थिए । यसपालिको फाइनलमा प्रमेशले पनि इलामको गौरव बढाउने अपेक्षा गरिएको छ ।