इलाममा ७ करोड लागतको पक्की पुल उद्घाटन, झलनाथ खनालले भने: ‘नेपालमै सबैभन्दा धेरै पुल बन्ने जिल्ला इलाम हुनसक्छ’

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

इलाम । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले रोङ गाउँपालिका–५ स्थित सुके निन्दा खोलामा निर्मित पक्की पुलको उद्घाटन गरेका छन्। करिब ७ करोड लागतमा निर्माण सम्पन्न भएको उक्त पुलको उद्घाटन गर्दै खनालले इलामको विकासमा आफू सधैं अग्रसर रहने बताए।

उनका अनुसार, इलाम जिल्लामा मात्रै आफ्नै पहलमा ४० भन्दा बढी पुल निर्माण भएका छन्। उनले भने, “सम्भवत: नेपालमै सबैभन्दा धेरै पुल निर्माण हुने जिल्ला इलाम हुनसक्छ। मलाई यहाँका जनताले सांसद र प्रधानमन्त्री बनाएका कारण पनि यस्तो सम्भव भएको हो।”

खनालले ११ महिनाअघि शिलान्यास गरिएको पुल समयमै निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै योगदान दिने सबैलाई धन्यवाद दिए। उनले स्थानीय जनप्रतिनिधि, अगुवा, सर्वसाधारण तथा निर्माण कम्पनीप्रति आभार प्रकट गरे।

पुल उद्घाटन समारोहमा कोशी प्रदेश सांसद खिनु लङ्वा, जिल्ला समन्वय समितिकी उपप्रमुख चित्रकला बराइली, रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्वो, स्थानीय अगुवा बृहस्पति खतिवडा लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

खनाल आइतबार झापाबाट इलाम पुगेका हुन्। उनी सोमबार इलामको सुर्योदय नगरपालिकामा आयोजना हुने एकीकृत समाजवादीको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *