काठमाडौं ।काठमाडौंको तीनकुनेमा राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै आयोजित प्रदर्शन तनावग्रस्त बनेको छ। प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएपछि प्रहरीले बल प्रयोग गरेको थियो।
प्रदर्शनकारीहरूले नयाँ बानेश्वरतर्फ अघि बढ्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै केही प्रदर्शनकारीलाई लाठीचार्ज गरेको छ। झडपकै क्रममा केही प्रदर्शनकारीहरूले नजिकैको घरमा आगजनी गरेका छन्।
तीनकुनेस्थित रोयल बैंक्वेट छेउका दुई घरमा आगलागी भएको हो। सुरक्षाकर्मीहरू आगो नियन्त्रणको प्रयास गरिरहेका छन्, तर आगो पूर्ण रूपमा निभिसकेको छैन।
यसअघि, प्रदर्शनकारीहरूले सोही घरमा ढुंगा प्रहार गरेर सिसा फुटाएका थिए। चाबहिल, भक्तपुर, र चक्रपथका विभिन्न स्थानबाट जुलुस निकालेर आएका प्रदर्शनकारीहरू तीनकुने पुगेपछि स्थिति तनावग्रस्त बनेको थियो।