नयाँ वर्ष नजिकिँदै गर्दा सरकारी तथा निजी कार्यालय, व्यापारिक संस्था, विद्यालय-कलेज लगायतले नयाँ पात्रो (क्यालेण्डर) निकाल्ने तयारी गरिरहेका छन्। तर, धेरैलाई थाहा नभएको महत्वपूर्ण कुरा के हो भने— स्वीकृतिविना भित्तेपात्रो, टेबुल पात्रो वा गोजीपात्रो प्रकाशन गर्न पाइँदैन। यस्तो कार्य गरेमा कानुनी कारबाही हुन सक्छ।
नेपालमा क्यालेण्डर प्रकाशनको नियमन नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले गर्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति गठन आदेश २०७७ को दफा ७ को उपदफा (ञ) र (ठ) अनुसार क्यालेण्डर प्रकाशन गर्नुअघि समितिबाट स्वीकृति लिनुपर्छ।
स्वीकृति शुल्क कति लाग्छ?
समिति सञ्चालन निर्देशिका २०७९ को दफा २५ अनुसार क्यालेण्डर प्रकाशनका लागि निम्न शुल्क लाग्छ:
✅ मूल्य राखेर बिक्री गर्ने क्यालेण्डर – रु. १०,०००
✅ निशुल्क वितरण गर्ने क्यालेण्डर – रु. ५,०००
✅ शैक्षिक प्रयोजनका लागि छापिने क्यालेण्डर – रु. २,०००
किन आवश्यक छ स्वीकृति?
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलका अनुसार यो नियम लागू गर्नुका प्रमुख कारणहरू यस्ता छन्:
पञ्चाङ्गकारको श्रमको सम्मान – महिनौँ लगाएर तयार पारिएको पञ्चाङ्गबाट अन्य व्यक्तिहरूले अनधिकृत रूपमा सामग्री सापटी लिएर लाभ लिने प्रवृत्ति रोक्न।
गल्ती रोक्न – दर्ता नभएको पञ्चाङ्गबाट गलत रूपमा क्यालेण्डर निकाल्दा चाडपर्व र सरकारी बिदाबारे भ्रम उत्पन्न हुन सक्ने भएकाले।
डेटा व्यवस्थापन – देशभर कति क्यालेण्डर प्रकाशन भइरहेका छन् भन्ने तथ्यांक राख्न सहज बनाउन।
ढुंगेलका अनुसार स्वीकृति शुल्क बुझाएपछि समितिले क्यालेण्डरका लागि आधिकारिक दर्ता नम्बर प्रदान गर्छ। साथै, सरकारी बिदा र चाडपर्वको सूची उपलब्ध गराइन्छ।
नियम उल्लङ्घन गरे के हुन्छ?स्वीकृतिविना क्यालेण्डर छापिएमा कानुनी कारबाही हुन सक्छ। त्यसैले, क्यालेण्डर प्रकाशन गर्नेहरूलाई समितिबाट अनुमतिपत्र लिएर मात्र छाप्न अनुरोध गरिएको छ।