इटहरीमा मादक पदार्थ सेवन (मापसे) गरी मोटरसाइकल चलाउँदा मध्यरातमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
इटहरी उपमहानगरपालिका–१२ स्थित सडकमा प्रदेश १–०२–०४८ प ३८७० नम्बरको मोटरसाइकल शनिबार राति करिब १२ः४५ बजे अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा परी विराटनगर महानगरपालिका–१० का २४ वर्षीय पुनम चौधरी गम्भीर घाइते भएका थिए। इलाका प्रहरी कार्यालय इटहरीका अनुसार उपचारका क्रममा आज (शनिबार) बिहान ५ः१५ बजे विराट नर्सिङ होममा उनको मृत्यु भएको हो।
मोटरसाइकलमा पछाडि सवार उदयपुरको कटारी नगरपालिका–२ की २८ वर्षीया उमा सुनुवार घाइते भएकी छिन्। उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउँदा दुर्घटना भएको खुलेको छ।