इलाम । आज मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् बालाचतुर्दशी पर्व देशभरका शिवालयहरूमा श्रद्धा–भावपूर्वक मनाइँदै छ। दिवंगत पितृको आत्मशान्तिको कामना गर्दै भक्तजनहरूले पशुपतिनाथसहितका मन्दिर क्षेत्रमा बिहानैदेखि शतबीज छर्ने धार्मिक विधि पूरा गरेका छन्।
मंगलबार रातभर दीप प्रज्वलन गरेर बसेका श्रद्धालुहरूले बिहान सबेरै उठी पितृको सद्गतिकाे कामनासहित शतबीज छर्ने परम्परा निर्वाह गर्छन्। यसै अवसरमा पशुपति क्षेत्र तथा अन्य शिवालयहरूमा विहानैदेखि भक्तजनको बाक्लो भीड देखिएको छ।
देशका विभिन्न ठाउँबाट हरेक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीमा बालाचतुर्दशी पर्व मनाउन भक्तजन पशुपतिनाथ पुग्ने चलन छ। यस वर्ष पनि बिहानैदेखि पशुपति क्षेत्रमा दर्शन, पूजापाठ र शतबीज छर्नेको घुइँचो लागेको छ।
—
बालाचतुर्दशीसँग जोडिएको जनविश्वास
बालाचतुर्दशीको संस्कारसँग एक रोचक कथा पनि जोडिएको मानिन्छ। परम्परागत कथाअनुसार, उही समयमा पशुपति क्षेत्रको श्मशान नजिक बस्ने बालानन्द नामक मानिसले अनौठो घटनापछि मानव गिदी खान सुरु गरेको जनविश्वास छ। यस कारण उनलाई स्थानीयले ‘बालासुर’ भनेर सम्बोधन गर्न थाले।
स्थानीयवासीहरू डराउन थालेपछि एक थकाली वृद्धको सुझावअनुसार वृषसिंहले बालासुरलाई मारिदिएको कथा प्रचलित छ। तर आफ्नै मितको मृत्युले व्याकुल बनेका वृषसिंहलाई भगवान शिवले सपनामा दर्शन दिँदै शतबीज छर्नुपर्ने मन्त्रणा दिएको भनाइ छ।
धार्मिक विश्वासअनुसार, मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वन वरपर शतबीज छर्दा बालासुर वैतरणी नदी पार गर्न सफल भएको र त्यसै बेलादेखि दिवंगत आत्माकाे शान्तिका लागि शतबीज छर्ने चलन सुरु भएको मानिन्छ।
धार्मिक नियम
धर्मशास्त्रविद्हरूका अनुसार माता–पिता दिवंगत भएर एक वर्ष नपुगेकाले बालाचतुर्दशीमा दीपदान वा शतबीज छर्ने कर्मकाण्ड गर्नु हुँदैन। धर्मसिन्धु ग्रन्थमा बरखी अवधिभित्र शिवको नामसम्म लिन नहुने उल्लेख छ।
यस दिन पशुपति पुगेका भक्तजनले वासुकी र गुह्येश्वरीको दर्शन र पूजा गर्नुपर्ने परम्परा पनि विभिन्न ग्रन्थमा उल्लेख गरिएको पाइन्छ।