मेची राजमार्ग अन्तरगत इलामको माईखोला खण्डमा पुनः सडक धसिएपछि बन्द भएको छ । वैकल्पिक राजमार्गको रुपमा रहेको तिल्केनी सिमलगोलाई सडक खण्ड पनि ठप्प भएको छ । जोगमाई खोलाको हुमपाइप बगाएपछि यो सडक पनि बन्द भएको हो ।
जिल्ला प्रशासन कार्यालय इलामले एक सूचना जारी गर्दै निरन्तर वर्षाका कारण इलाम जिल्लाको मेची राजमार्ग स्थित राजदुवाली सडकखण्ड दबिँदै, भासिँदै र चिरिँदै गएको साथै तिल्केनी–सिमलगोलाई शिल्पुर सडक खण्ड समेत पहिरोका कारण अवरुद्ध बनेकोले यातायात संचालनमा रोक लगाएको हो । जिल्ला प्रशासन कार्यालय इलामबाट अर्को सूचना जारी नभएसम्मका लागि उल्लेखित बाटो हुँदै सवारी सञ्चालनमा पूर्णरूपमा रोक लगाईएको जनाएको छ ।