विभागबाट मिडिया दर्ता यथाशीघ्र सुरु हुन्छ : मन्त्री खरेल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचना तथा प्रसारण विभागमार्फत अनलाइन मिडियाको दर्ता र नवीकरण प्रक्रिया छिट्टै सुरु हुने बताएका छन्।

विभागको अनुगमन निरीक्षणपछि आयोजित कार्यक्रममा मन्त्री खरेलले पछिल्लो समय धेरै सञ्चारकर्मीले अनलाइन दर्ता तथा नवीकरणका क्रममा झन्झट बेहोर्नु परेकाले सो प्रक्रिया सहज र प्रभावकारी बनाउन निर्देशन दिएको जानकारी गराए।

उनले भने, “दर्ता र नवीकरणका क्रममा धेरै साथीहरूले कठिनाइ भोग्नुभएको छ। विभागले अब छिट्टै सेवा र सुविधा सहज रूपमा उपलब्ध गराउनेछ। सम्भवतः तिहारअघि नै प्रक्रिया अघि बढ्छ।”

मन्त्री खरेलका अनुसार मनसुन र दसैंका कारण केही समय ढिलाइ भए पनि मन्त्रालयले आवश्यक तयारी पूरा गरिसकेको छ। मन्त्रिपरिषद्बाट निर्णय भएर राजपत्रमा प्रकाशित हुनेबित्तिकै दर्ता र नवीकरण कार्य सुरु गरिने उनले बताए।

उनले सूचना तथा प्रसारण विभागलाई अन्य सरकारी निकायभन्दा छिटो र जिम्मेवार संस्थाको रूपमा प्रशंसा गर्दै भने, “यो कार्यालय जनता र पत्रकारसँग प्रत्यक्ष जोडिएको छ। सीमित स्रोत र जनशक्तिबीच पनि उत्कृष्ट सेवा प्रवाह भइरहेको छ।”

मन्त्री खरेलले वर्तमान सरकार सुशासन र पारदर्शिता अभिवृद्धि गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै, जेन–जी आन्दोलनका क्रममा भएको जनधन क्षतिको अनुसन्धान र कारबाही अघि बढाउने आश्वासन पनि दिए।

सो अवसरमा मन्त्रालयकी सचिव राधिका अर्यालले अनलाइन मिडिया दर्ता, नवीकरण तथा पत्रकारसँग सम्बन्धित माग र मुद्दा सम्बोधनमा मन्त्रालय सकारात्मक रहेको बताइन्।

त्यसैगरी, विभागका महानिर्देशक उदयबहादुर रानामगरले सञ्चारकर्मीको हकहित सुनिश्चित गर्दै सहजीकरणका कार्यहरूलाई प्राथमिकता दिइरहेको जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *