इलाम । झापा जिल्लामा पहिलो पटक विश्वकै सबैभन्दा ठूलो र विषालु प्रजातिको सर्प राज गोमन (King Cobra) सफलतापूर्वक उद्धार गरिएको छ। बुद्धशान्ति–७, जरेवर स्थित स्थानीय वासिन्दा रनबहादुर चेम्जोङको घरबाट उक्त सर्प उद्धार गरिएको हो। चेम्जोङको घरमा सर्प देखिएलगत्तै स्थानीय उद्धारकर्ता कृपेश कार्की घटनास्थलमा पुगेका थिए।
ठूलो आकारको राज गोमन भएको थाहा पाएपछि कार्कीले थप उद्धारकर्तालाई बोलाएका थिए। झापा अर्जुनधाराका बरिष्ठ उद्धारकर्ता श्याम प्रधान र उद्धारकर्ता वीरेन्द्र तिवारी समेत घटनास्थल पुगेर सर्प उद्धार गरिएको थियो । चेम्जोङको घरबाट उद्धारपछि सर्पलाई बुद्धशान्ति गाउँपालिकाको कार्यालयमा ल्याइएको थियो ।
त्यस लगत्तै चारआली स्थित वन्यजन्तु विभागिय कार्यालयका प्राविधिकहरूलाई हस्तान्तरण गरिएको खरेलले बताए । वन प्राविधिकहरूले गरेको नापजाँचमा सर्पको तौल करिब ८.५ किलो र लम्बाइ १२.५ फिट रहेको जनाइएको छ। जिल्ला वन कार्यालय झापासंगको समन्वयमा उक्त सर्पलाई बिर्तामोडको एक सामुदायिक वनमा प्राकृतिक बासस्थानमा छोडिएको हो।
सुरक्षाका कारण सो वनको नाम सार्वजनिक गरिएको छैन । उद्धार पश्चात सर्प छोड्ने क्रममा उद्धारकर्ता तीनै जना, दिल कुमार श्रेष्ठकासाथ वनका प्रतिनिधि र मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेलको उपस्थिति रहेको थियो ।