पाँच मिनेट मात्रै ढिला भएको भए मलाई चहिँ मार्ने नै थिए : ओली

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पुर्वप्रधानमन्त्री तथा नेकपा (एमाले )   अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि भएको एउटा घटनाबारे खुलासा गरेका छन्। उनले भनेका छन्, “यदि पाँच मिनेट मात्रै ढिला भएको भए, प्रदर्शनकारीहरूले मलाई मार्ने थिए।”
२०७८ भदौ २४ गतेको एक घटनालाई स्मरण गर्दै ओलीले आफूलाई सैनिक हेलिकोप्टरबाट बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट शिवपुरीस्थित सैनिक ब्यारेकमा सारिएको बताएका छन्। नेकपा (एमाले) निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघका प्रतिनिधिहरूसँगको कुराकानीमा उनले भने, “शेरबहादुरजीलाई घाइते बनाइयो, मलाई त सिधै मार्ने नै थिए। मैले तयारी गर्ने समय पाइनँ, सुरक्षामाथि विश्वास गरेँ। तर सुरक्षाकर्मीले केही गर्न नसक्ने बताएपछि अन्तिममा सेनाले भगाई दियो।”
प्रधानमन्त्रीले राजीनामा नदिए सेनाले उद्धार गर्न नसक्ने बताएपछि ओलीले सोही दिन दिउँसो २ बजे राजीनामा दिएका थिए। राजीनामालगत्तै ओली, उनकी पत्नी राधिका शाक्य र मुख्य सल्लाहकार विष्णु रिमाललाई दिउँसो २:३० बजे हेलिकोप्टरबाट शिवपुरीस्थित स्टाफ कलेजको ब्यारेकमा लगिएको थियो।
बालुवाटारमै रहेका उपप्रधानमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीलाई भने ‘माथिको आदेश’ भन्दै त्यहीँ छाडिएको थियो। उनीहरू प्रहरीको सहयोगमा प्रहरी प्रधान कार्यालय पुगेर सुरक्षित भएका थिए।
भदौ २३ गते १९ जना युवाको ज्यान गएपछि भदौ २४ गते बिहानैदेखि आन्दोलन चर्किएको थियो। बिहान १० बजे मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा गृह मन्त्रालयमा बैठक बसी प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाटार पुगेका थिए।
उनीहरूले परिस्थिति असामान्य बन्दै गएको भन्दै राजनीतिक निकासका लागि सुझाव दिए। तर, ओली उल्टै आक्रोशित हुँदै भनेका थिए, “राजनीतिक निकास भनेको राजीनामा हो? सुरक्षाकर्मीले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्ने? अनि प्रधानमन्त्रीले राजनीतिक निकास दिने? तपाईंहरूको परिभाषित जिम्मेवारी जे हो, त्यो पूरा गर्नुहोस्, स्थिति ठीक हुन्छ। म यहाँ बस्ने कुर्सी ओगट्न होइन, राष्ट्रको चुनौती पूरा गर्नका लागि हो। तपाईंहरूले पनि त्यो पूरा गर्नुहोस्।”
राजीनामा दिएर निकास दिन प्रधानसेनापतिले आग्रह गरेपछि ओली थप आक्रोशित बनेका थिए। प्रधानमन्त्री आक्रोशित भएपछि निराश सुरक्षा प्रमुखहरूले प्रधानमन्त्रीको बैठक कक्षबाटै सडक प्रदर्शनको जानकारी लिन थाले। बाहिर स्थिति भयावह भइसकेको रिपोर्ट आइरहेको थियो।
त्यसपछि मुख्यसचिव र प्रधानसेनापतिले अर्थमन्त्री पौडेल र प्रधानमन्त्रीका सल्लाहकार रिमालसँग प्रधानमन्त्रीले राजीनामा नदिने हो भने स्थिति थाम्न नसकिने बताएका थिए। ओली राजीनामा नदिई बालुवाटारबाट सुरक्षित स्थानतिर जाने तयारीमा थिए। तर, सेनाले राजीनामा नदिई उनलाई उद्धार गर्न मानेन। त्यसपछि मात्रै दिउँसो २ बजेतिर ओलीले राजीनामापत्रमा हस्ताक्षर गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *