इलाम अस्पताल अक्सिजनमा आत्मनिर्भर, बाहिरका बिरामीलाई पनि सहज

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

केही वर्षअघिसम्म अक्सिजन नभएर बिरामीको ज्यान बचाउन जोखिम मोल्नुपर्ने इलाममा अहिले पर्याप्त अक्सिजन उत्पादन भइरहेको छ। इलाम अस्पतालमा रहेको प्लान्टबाट अहिले अस्पतालका बिरामीलाई मात्र होइन, बाहिरका बिरामीलाई समेत अक्सिजन सेवा पुगिरहेको छ।

तीन वर्षअघि जडान गरिएको अक्सिजन प्लान्टबाट दैनिक ६०० देखि ७०० किलो अक्सिजन उत्पादन भइरहेको छ। आवश्यकता परेमा थप उत्पादन गर्ने क्षमता पनि प्लान्टसँग छ। अस्पतालका अनुसार, यहाँ उत्पादित अक्सिजन इलाम अस्पतालका बिरामीका लागि पर्याप्त भएर बाहिरका बिरामीलाई समेत पुगेको छ। कोभिड संक्रमणका बेला बिरामीलाई अक्सिजन अभाव भएपछि प्रदेश र संघीय सरकारको सहयोगमा सदरमुकाममा यो अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको थियो।

अस्पतालका बायो–प्राविधिक खेमराज घिमिरेले यो प्लान्ट सोझै अस्पतालका शय्यासम्म जडान गरिएको बताए। अस्पतालमा आएका र रेफर गरिएका बिरामीलाई एम्बुलेन्समा अक्सिजन निःशुल्क दिने गरिएको छ। अन्य अस्पतालबाट आएका बिरामी र अक्सिजन सिलिन्डर आवश्यक पर्ने बिरामीलाई पनि अक्सिजन भरेर दिने गरेको प्राविधिक घिमिरेले जानकारी दिए।

“अस्पताल बाहिरका बिरामीलाई प्रतिसिलिन्डर सात सय रुपैयाँ लिएर अक्सिजन दिन्छौँ,” उनले भने, “यो सिलिन्डर बाहिरबाट ल्याउनुपर्दा एक हजार पाँच सय रुपैयाँ खर्च गर्नुपर्छ। यसरी अक्सिजन दिँदा पनि आर्थिक अवस्था कमजोर भएका कतिपय बिरामीलाई भने निःशुल्क पनि दिन्छौँ।” घिमिरेका अनुसार, आवश्यक परेमा अहिले भइरहेको भन्दा बढी उत्पादन पनि गर्न सकिन्छ।

अक्सिजन प्लान्ट जडान भएपछि अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न धेरै सहज भएको अस्पतालका इमर्जेन्सी इन्चार्ज टीका लुइँटेलले बताए। “प्रायः इमर्जेन्सीमा आउने बिरामीलाई अक्सिजन नै आवश्यक पर्छ। जिल्लामै अक्सिजन प्लान्ट नहुँदासम्म धेरै समस्या थियो। बाहिरी जिल्लाबाट सिलिन्डर भरेर ल्याउनुपर्थ्यो। कोभिडका बेला त झनै समस्या भयो,” उनले भने, “अहिले इलाम अस्पतालमा अक्सिजनकै अभावले कुनै बिरामीले छटपटिनु पर्दैन।”

आकस्मिक कक्षमा उपचारका लागि दैनिक ६०–७० जना बिरामी आउने गरेका छन्। तीमध्ये धेरैजसोलाई अक्सिजन आवश्यक पर्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *