इलाम फाकफोकथुम-७ का बासिन्दालाई राहत : यामबरक डाँडागाउँ खानेपानी योजना निर्माणाधीन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

इलाम फाकफोकथुम गाउँपालिका–७ स्थित एकतप्पाका बासिन्दाहरू अब स्वच्छ, व्यवस्थित र पर्याप्त खानेपानीको अभावबाट मुक्त हुने भएका छन्। यामबरक डाँडागाउँ खानेपानी आयोजना निर्माणाधीन अवस्थामा रहेको र निर्माण सम्पन्न भएपछि सो गाउँका बासिन्दाले दीर्घकालीन रूपमा लाभ पाउने भएका हुन्।

१६ लाख ६१ हजार २ सय ४४ रुपैयाँ लागतमा निर्माण थालिएको उक्त योजना चालु आर्थिक वर्षको अन्त्यसम्म सम्पन्न हुने लक्ष्य छ। आयोजना सम्पन्न भएपछि २१ घरधुरीका १०७ जना बासिन्दा लाभान्वित हुनेछन्।

खानेपानी योजना सहयात्रा नेपालको पहलमा टेवा काठमाडौं तथा गाउँपालिकाको साझेदारीमा निर्माण भइरहेको छ। टेवा काठमाडौंले ५ लाख रुपैयाँ, गाउँपालिकाले ३ लाख ९४ हजार रुपैयाँ आर्थिक लगानी गरेको छ भने बाँकी ७ लाख ६७ हजार रुपैयाँ बराबरको लागत उपभोक्ताहरूको जनश्रमदानबाट जुटाइएको सहयात्रा नेपालका फिल्ड प्राविधिक शेरबहादुर थापाले जानकारी दिए।

थापाका अनुसार प्रत्येक घरमा धारा जडान गरिनेछ। यस योजनाको सफलतासँगै सो वडामा दुईवटा खानेपानी योजना सम्पन्न हुनेछन्। यसअघि टेवा काठमाडौं र पालिकाको साझेदारीमा जनश्रमदानमार्फत करिब १५ लाख रुपैयाँको लागतमा धार्नेखोप खानेपानी योजना सम्पन्न भइसकेको छ, जसबाट २५ घरधुरी लाभान्वित भएका थिए।

खानेपानीसँगै जलबायु परिवर्तन र जैविक विविधताको संरक्षण, महिलाको आत्मनिर्भरता र अर्गानिक तरकारी खेती प्रवर्द्धनमा समेत सहयात्रा नेपाल मार्फत टेवा काठमाडौंले निरन्तर सहयोग गर्दै आएको संस्थाकी अध्यक्ष हेमकुमारी (गंगा) शिवाले बताइन्।

उनका अनुसार सन् २०२१ देखि खानेपानीको मुहान संरक्षणको कार्य थालिएको हो। हालसम्म ६ वटा खानेपानी योजना सम्पन्न भइसकेका छन् भने थप ४ वटा योजना निर्माणाधीन अवस्थामा छन्। यी योजनाहरूमा टेवा काठमाडौंले ३५ लाख रुपैयाँभन्दा बढी लगानी गरिसकेको छ।

पिउने पानीको अभावमा वर्षौँदेखि समस्यामा परेका बासिन्दा योजनाको प्रगति देखेर हर्षित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *