सूर्योदय नगरपालिका इलामले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कार्यान्वयन गर्न लागिएको नीति तथा कार्यक्रमसम्बन्धी सरोकारवालासँग पूर्व बजेट छलफल सम्पन्न गरेको छ। नगरपालिका प्रशासनले गैसस, उपभोक्ता समिति, सहकारी संस्था, बुद्धिजीवी तथा सञ्चारकर्मीहरूलाई आमन्त्रण गरी नीति निर्माणका लागि सुझाव संकलन गरेको हो।
कार्यक्रममा २२ जना सहभागीले आ–आफ्ना सुझाव प्रस्तुत गरेका थिए। बहुसंख्यक सहभागीले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, चिया र पर्यटन प्रवर्द्धनका विषयमा ध्यान दिनुपर्ने धारणा राखे। यद्यपि छलफलमा जनप्रतिनिधिहरुको न्यून उपस्थिति रहेको भन्दै कतिपय सहभागीले असन्तुष्टि व्यक्त गरे। अघिल्ला नीति कार्यक्रम कार्यान्वयनमा कमी रहेको भन्दै त्यसप्रति पनि गुनासो सुनिएको थियो।
प्रदेशसभा सदस्य शम्शेर राई प्रमुख अतिथि रहेका छलफल कार्यक्रममा उनले स्थानीय तहले समानीकरण अनुदानभन्दा आन्तरिक आम्दानी बढाउनेतर्फ केन्द्रित हुन सुझाव दिए। “करको दरभन्दा करको दायरा बढाउनुपर्छ,” उनले भने, “केवल डाँडाकाँडा रंग्याएर मात्र पर्यटन विकास सम्भव छैन, प्रदेश सरकारले लगानी गरे आम्दानी दुवै तहलाई हुनुपर्छ।”
नगरप्रमुख रणबहादुर राईले नीति कार्यक्रमको प्रारम्भिक खाकाबारे बोल्दै नगरपालिकाले नयाँ कार्यक्रमहरू समावेश गरेर अघि बढ्ने लक्ष्य लिएको जानकारी दिए। उनले नगरले वार्षिक रूपमा करीब १ अर्ब ३५ करोडको बजेट ल्याउँदै आएको उल्लेख गरे।
राईले सामाजिक सुरक्षामा ३६ करोड, शिक्षामा ३५ करोड र स्वास्थ्य क्षेत्रमा ९ करोड रुपैयाँ लगानी गर्दै आएको बताए। उनले वन फडानीबारे जनगुनासो बढेपछि ३३ इन्चभन्दा कम व्यास भएका रुख काट्न रोक लगाइएको जानकारी पनि दिए। दुग्ध मूल्य निर्धारणमा स्थानीय तहको भूमिका सहजीकरणमा सीमित रहेको उनले स्पष्ट पारे।
कार्यक्रममा योजना अधिकृत खेम राईले नीति कार्यक्रमको प्रारम्भिक खाका प्रस्तुत गरेका थिए। छलफलमा विभिन्न राजनीतिक दलका नेता, पूर्व जनप्रतिनिधि, शिक्षासेवी, सहकारीकर्मी, पत्रकारलगायतको उल्लेख्य उपस्थिति रहेको थियो।