सामुदायिक सिकाई केन्द्र बोर्ड होइन, कार्यक्षमता महत्वपूर्ण : नगर प्रमुख राई

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

सूर्योदय, सामुदायिक सिकाई केन्द्रको नाम मात्रको बोर्ड झुण्ड्याउनु भन्दा पनि आफ्नो क्षेत्राधिकारभित्र रहेर प्रभावकारी कार्य सम्पादन गर्नु आवश्यक रहेको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताएका छन्।

मंगलबार सूर्योदय नगरपालिकाको सभाहलमा सुरु भएको “सामुदायिक सिकाई केन्द्रको क्षमता विकास तथा स्थानीय तहसँगको समन्वय र सहकार्य” विषयक कार्यशालाको उद्घाटन सत्रमा प्रमुख अतिथि राईले सो कुरा बताएका हुन्।

उनले भने, “सिकाई केन्द्रले आफ्नो काम गर्ने क्यास्मेन्ट क्षेत्रको स्पष्ट परिभाषा गर्नुपर्छ। केवल बोर्ड राखेर होइन, काम गरेर समुदायमा प्रभाव पार्न आवश्यक छ। आफूले के गर्दैछु भनेर स्वमूल्याङ्कन र समीक्षा गर्न सक्ने अभ्यास हुनुपर्छ।”

युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय, सिंहदरबार, काठमाडौँको आयोजनामा तथा सूर्योदय नगरपालिकाको सह–आयोजनामा सुरु भएको तीनदिने कार्यशाला “हामी हाम्रो समुदायको आर्थिक सामाजिक रूपान्तरणमा चिन्तित छौँ” भन्ने नाराका साथ सञ्चालन भइरहेको हो।

कार्यशालामा युनेस्को नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव तथा कार्यशालाका अध्यक्ष रामेश्वर प्रसाद यादव, काका सामुदायिक सिकाई केन्द्र सर्लाहीका अध्यक्ष कमिलेश्वर कुमार सिंह, शाखा अधिकृत दीपक भण्डारीलगायतले सहजीकरण गरिरहेका छन्।

कार्यशालामा माई नगरपालिका, सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाअन्तर्गतका सात सामुदायिक सिकाई केन्द्रका पदाधिकारी, परिचालक, जनप्रतिनिधि र शिक्षा शाखाका प्रतिनिधिहरूको सहभागिता रहेको छ।

कार्यशालामा सामुदायिक सिकाई केन्द्रको अवधारणा, नीतिगत व्यवस्था, अनुभव आदानप्रदान, सफलताको कथा, सशक्तिकरणसँग सम्बन्धित पक्षहरूबारे छलफल भइरहेको शाखा अधिकृत भण्डारीले जानकारी दिए। साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, दिगो विकास लक्ष्य (SDG) प्राप्तिमा सिकाई केन्द्रको भूमिका, स्थानीय सरकारको सहभागिता, सफलताको आधारहरूजस्ता विषयमा समेत कार्यशालामा प्रस्तुतिहरू हुनेछन्।

तीनदिने यो कार्यशाला चैत २६, २७ र २८ गतेसम्म सूर्योदय नगरपालिकाको सभाहलमा सञ्चालन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *