सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल प्लेटफर्म मेटा (फेसबुक, इन्स्टाग्राम, म्यासेन्जर, ह्वाट्सएप) लाई सात दिनभित्र नेपालमा दर्ता नभए प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।
शुक्रवार काठमाडौँमा आयोजित राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले मेटालाई पटक–पटक सूचना जारी गरेर नेपालमा दर्ता हुन आग्रह गरिएको भए पनि कम्पनीले बेवास्ता गरेको बताए।
उनका अनुसार तेस्रो पटक जारी गरिएको सूचनाको म्याद पनि केही दिनअघि सकिएको छ। अबको सात दिनभित्र दर्ता प्रक्रिया पुरा नगरेमा सरकारले प्रतिबन्ध लगाउने तयारी गरिरहेको जानकारी उनले दिए।
“मेटा भन्ने वित्तिकै फेसबुक होला, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्राम होला, चलिरहेका छन्। यत्रो धेरै प्रयोग भइरहेका छन्। हरेक घण्टामा यहीँ समाजबाटै २–४ हजार रुपैयाँ मेटाको कार्यालयमा गइरहेको होला,” उनले भने, “नेपालमा सबैभन्दा बढी प्रयोग हुने फेसबुक हो। हाम्रो पैसा त्यसरी लुट्ने? दर्ता हुनुपर्दैन? कर तिर्नुपर्दैन?”
मन्त्री गुरुङले मेटाले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा बढी आम्दानी गर्ने घमण्ड देखाएको आरोप पनि लगाए। “उनीहरूको घमण्ड के रैछ भने नेपालको जिडिपी कति हुन्छ र? हाम्रो संस्था भन्दा सानो त नेपाल हो भन्दो रैछ। मुलुकको स्वाधीनता पैसामा जोडिँदैन,” उनले प्रष्ट पारे।
उनले हालसम्म नेपालमा टिकटक, भाइबर र वी–टक मात्रै दर्ता भएको जानकारीसमेत गराए।