सर्लाहीको चन्द्रनगरमा छोरीलाई दिइने प्रोत्साहन रकमले बालविवाह न्यूनीकरण र शिक्षा प्रवर्द्धनमा सफलता

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

सर्लाही — बालविवाह न्यूनीकरण र छोरीको शैक्षिकस्तर सुधारका लागि सर्लाहीको चन्द्रनगर गाउँपालिकाले सुरु गरेको ‘प्रोत्साहन रकम’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ।

यहाँ व्याप्त बालविवाह र छोरीलाई विद्यालयबाट चाँडै निकाल्ने परम्परालाई तोड्न गाउँपालिकाले आर्थिक प्रोत्साहन दिन थालेको हो। आर्थिक वर्ष २०७९/८० देखि लागू गरिएको योजनाअनुसार १२ कक्षा पास गरी २० वर्ष पूरा गरेर विवाह गर्ने छोरीलाई ५० हजार रुपैयाँ प्रोत्साहन रकम दिइन्छ। त्यस्तै, स्नातक तह अध्ययन गर्नेछोरीलाई क्याम्पस भर्ना शुल्कका लागि ११ हजार रुपैयाँ सहयोग गरिन्छ।

स्थानीय शिक्षक रामएकवाल महतोका अनुसार, यो कार्यक्रमले समाजमा छोरीको पढाइप्रतिको चेतना बढाएको छ। मधेशका पिछडिएका तथा कमजोर आर्थिक अवस्थाका समुदायमा अझै पनि छोरीलाई धेरै पढाउने मानसिकता नरहेकाले यो पहल महत्वपूर्ण भएको उनले बताए।

शिक्षिका रमा सिंहले कक्षा ७ वा ८ मा पढ्दापढ्दै विवाह गर्ने चलनले छोरीहरूको भविष्य अन्धकारमय बनाउने गरेको बताउँदै, प्रोत्साहन रकम कार्यक्रमले त्यस्तो चलनमा ब्रेक लागेको उल्लेख गरिन्।

स्नातक तहमा अध्ययनरत शोभा कुमारीले यो योजनाले आफूजस्ता गरिब तथा विपन्न वर्गका छात्रालाई ठूलो राहत दिएको बताइन्। ‘मैले कक्षा १२ पास गरेर २१ वर्षको उमेरमा विवाह गरेँ’, उनले भनिन्, ‘विवाहको मण्डपमै पालिकाबाट ५० हजार रुपैयाँको प्रोत्साहन रकम पाएँ। परिवारको आयस्रोत नहुँदा पढ्न सक्ने अवस्था थिएन। अहिले त्यही रकमको भरमा स्नातक तहमा अध्ययन गरिरहेकी छु।’

गाउँपालिकाको यो अभियानले समुदायमा सकारात्मक परिवर्तन ल्याइरहेको स्थानीयवासीहरूको धारणा छ। बालविवाह न्यूनीकरण र छोरीको शिक्षा प्रवर्द्धनमा यो कार्यक्रम उदाहरणीय बन्न थालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *