रोसन काफ्ले
मेची राजमार्गमा पर्ने इलामको सानो गोदकनजिकैको सिमल गोलाई । यहाँको एउटा सानो मोडमा, जुन दिनभर सवारी साधनको चहलपहलले भरिएको हुन्छ, त्यही सडकको छेउमा केही वृद्ध महिलाको अनुहार बिहानदेखि साँझसम्म देखिन्छ– हातमा ताजा फलफूल, विशेषगरी लिच्ची बोकेर ।
न ठुल्ठूला पसल छन्, न त कुनै बजारको चाप । तर, आत्मबल र मिहिनेतको व्यापार भने बर्सेनि बढ्दैगएको छ । उनीहरू बिहान सबेरै बाटोको छेउमा बस्न आउँछन्, साँझ ५–६ बजेसम्ममा लिच्ची बेच्छन् र घर फर्किन्छन् ।
यात्रुहरू झापाबाट फिक्कल हुँदै इलाम बजार र त्यहाँबाट पाँचथर, ताप्लेजुङतर्फ गइरहेका हुन्छन् । यसै मार्गमा सयौँ गाडी, मोटरसाइकल, यात्रु ओहोर–दोहोर गर्छन् । कतिपय घर फर्किंदै छन्, कतिपय पाहुना जान लागेका छन् । तर, धेरै यात्रुहरूको नजर यिनै ताजा र रसिला लिच्चीतर्फ जान्छ ।
उनीहरूमध्ये लिच्ची बोकेर आएकी शान्ता धौले भन्छिन्, ‘हामीले त गाउँमै पाकेको लिच्ची ल्याउँछौँ, ताजा छ, राम्रो बिक्छ । दिनमा ४०–५० किलोसम्म बेचिन्छ ।
शान्ताजस्तै अन्य महिला पनि आफ्नै गाउँघरबाट लिच्ची, सुन्तला, आँपजस्ता फल ल्याएर यो सडकछेउमा राख्छन् । रुखको छहारीमा बसेरै उनीहरू ढुक्कसँग लिच्ची बेचिरहेका देखिन्छन् । ५६ वर्षीया चन्द्रकला नेम्बाङ हाँस्दै भन्छिन्, ‘पहिले त फिक्कलसम्म लिच्ची बेच्न लैजान्थ्यौं । तर, त्यहाँ खर्च बढी, कमाइ थोरै । अहिले यहाँ बस्छौं, खर्च कम, मिहिनेत धेरै नलाग्ने, सजिलो पनि ।’
चन्द्रकला ठट्यौली पारामा थप्छिन्, ‘हामीलाई यसो लत लागेका कुराहरू खान पनि पैसा त चाहियो नि नानी ! घरमा काम छैन, दिनभर बस्नुभन्दा बरु गाउँबाट फलफूल ल्याएर यहाँ बेच्छौं ।’
यसरी बोल्दा चन्द्रकलाको हाँसोमा आत्मनिर्भर जीवनको आनन्द मिसिएको देख्न सकिन्थ्यो । ‘लोकल’ भन्ने शब्द आजभोलि बजारको ‘ट्रेन्ड’ भएको छ । तर, यी महिलाका लागि ‘लोकल’ केबल ट्रेन्ड होइन, जीवनको आधार हो । गाउँमा उत्पादन भएको लिच्ची, सिमल गोलाईमा आएर बिक्छ । कतिपय त झापाबाट ल्याएर पनि लोकल लिच्ची भनेर लुकाएर बेच्ने गरेको गुनासो पनि सुनिन्छ ।
‘गाउँबाट करिब एक,डेढ घन्टा हिँडेरै ल्याउनुपर्छ । कहिले अटो भेटिन्छ, कहिले बाइक । तर, कहिलेकाहीं त डोकोमै बोकेर ल्याउनुपर्छ,’ शान्ता बताउँछिन् ।
ताजा फलफूल, हसिलो अनुहार र शीतल छहारी
यात्रामा थकित जो कोही यो मोडमा रोकिएर रुखको छहारीमा बसी ताजा लिच्ची खान रुचाउँछन् । फलफूलको मिठासमात्रै होइन, ती महिलाको हाँसो र व्यवहारले पनि बाटो हिँड्नेहरूलाई ताजगी दिन्छ ।
‘हामी त झापा पनि पठाउँछौं कहिलेकाहीँ, गाउँमा नबिक्ने फलफूलहरू त्यता जान्छ,’ अर्की ५६ वर्षीया महिलाले भनिन् ।
स्थानीय उत्पादक महिला आफैंले उपभोक्तासम्म लिच्ची लैजाँदा कोही बिचौलियाले मौका पाउँदैनन् । उपभोक्ताले तिरेको मूल्य जस्ताको तस्तै उत्पादकसम्म पुगिरहेको छ । उनीहरूको कुनै ठूलो उद्योग छैन तर त्यही आत्मनिर्भर प्रणाली छ, जुन देशको ग्रामीण अर्थतन्त्रको मेरुदण्ड बन्न सक्छ ।
यस्ता स्थानीय उत्पादनलाई स्थानीय बजारमै खपत गर्न सकियो भने भारतबाट आउने बासी वा विषादी मिसिएका फलफूलको भर पर्नुपर्ने अवस्था धेरै हदसम्म घट्न सक्छ । सस्तो, ताजा, अर्गानिक अनि स्वदेशी शब्द अब केबल नारामा होइन, व्यवहारमा पनि लागू गर्न यिनै महिलाको प्रयास प्रभावकारी देखिएको छ ।