विक्रम संवत् २०८२ सालको नयाँ वर्षको पहिलो दिन आज देशभर उल्लासपूर्वक मनाइँदैछ। आपसी शुभकामना आदानप्रदान गर्दै नेपालीहरू नयाँ वर्षलाई हर्षोल्लासपूर्वक स्वागत गरिरहेका छन्।
आज वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्तिको दिन हो। सूर्यले मीन राशिको भ्रमण समाप्त गरी मेष राशिबाट भ्रमण सुरु गर्ने भएकाले यो दिनलाई वैज्ञानिक र धार्मिक दृष्टिकोणले विशेष मानिन्छ। यही दिनबाट विक्रम संवत् नयाँ वर्ष सुरु हुन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराईका अनुसार, सूर्यको गतिसँगै चल्ने भएकाले विक्रम संवत् शाश्वत छ। उनले भने, “विक्रम ६० संवत्सरमध्ये एक हो। यो संवत् आदित्य सूर्यसँग सम्बन्धित भएकाले विक्रमादित्य संवत् भनिएको हो। सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्दछ। यसभित्र शक संवत्का विशेषतासमेत समावेश छन्।”
सूर्यले मेष राशिमा प्रवेश गर्दा नयाँ वर्ष सुरु हुने र मीन राशि छोड्दा पुरानो वर्ष समाप्त हुने भएकाले विक्रम संवत् वैज्ञानिक आधारमा आधारित भएको विद्वानहरू बताउँछन्।
विक्रम संवत्मा सौरमान र चान्द्रमान दुवैको समन्वय गरिएको छ। धार्मिक विश्वासअनुसार कलियुग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत्को प्रारम्भ भएको हो।
आजको दिनलाई नेपालीहरूले विशेष रूपमा मनाउने चलन छ। बिहानै नुहाउने, घर–आँगन सफा गर्ने, मठमन्दिरमा गई पूजा–आराधना गर्ने, मीठो परिकार खानुका साथै आफन्तजन, साथीसंगी र इष्टमित्रसँग भेटघाट गरी शुभकामना आदानप्रदान गर्ने परम्परा रहेको छ।
विश्वका जुनसुकै स्थानमा रहेका नेपालीहरूले पनि वैशाख १ लाई नयाँ वर्षको रूपमा उल्लासपूर्वक मनाउँछन्।
यता, चान्द्रमान अनुसार नयाँ संवत्सर भने चैत्र शुक्ल प्रतिपदाका दिन अर्थात् चैत १७ गतेदेखि नै सुरु भइसकेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार, सो दिनदेखि सिद्धार्थी नामक संवत्सर सुरु भएको हो।
वैदिक सनातन परम्पराअनुसार ६० संवत्सर छन्, जसमा पहिलोको नाम ‘प्रभव’ हो। हाल सुरु भएको ‘सिद्धार्थी’ संवत्सर ५३ औँ संवत्सर हो, जुन आदि अनादिकालदेखि क्रमशः घुम्दै आएका छन्।
नयाँ वर्षको अवसरमा हरेक व्यक्ति अघिल्लो वर्षका सफलता र असफलताको मूल्याङ्कन गरी नयाँ संकल्पसहित आगामी वर्षको योजना बनाउने परम्परा रहेको छ।