महोत्तरी, २१ चैतः मधेसका जिल्लाहरूमा वासन्ती छठ पर्वको उल्लास छाएको छ। बोलीचालीमा ‘चैती छठ’ भनिने यो पर्वको तेस्रो तथा मुख्य दिन आज व्रतालुहरूले षष्ठी तिथिमा निराहार व्रत सुरु गरेका छन्।
बुधबार पञ्चमी तिथिका दिन राति खरना विधि सम्पन्न गरी सख्खरको खिर प्रसादस्वरूप ग्रहण गरेपछि व्रतालुहरूले निराहार व्रत प्रारम्भ गरेका हुन्।
आज साँझ व्रतालुहरूले पवित्र जलाशयमा सजाइएका घाटमा विभिन्न मिष्टान्न परिकार राखिएका डालीहरू हातमा लिएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य अर्पण गर्नेछन्। मिथिलाको परम्परागत भाषामा यस विधिलाई ‘सझुका अरख’ वा ‘सझियाघाट’ भनिन्छ। श्रद्धा, निष्ठा र समर्पणको प्रतीक मानिने छठ पर्वको अवसरमा मिथिलाका गाउँबस्ती भक्तिमय बनेका छन् भने जलाशयका घाटहरू आकर्षक रूपमा सजाइएका छन्।
भोलि शुक्रबार सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको वासन्ती छठ पर्व विधिवत रूपमा सम्पन्न हुनेछ। यसअघि मंगलबार चौथी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट पर्वको आरम्भ भएको थियो। बुधबार पञ्चमी तिथिमा व्रतालुहरूले नुनविहीन एक छाक मात्र भोजन गरी खरना विधि सम्पन्न गरेका थिए।
मधेसको प्राचीन मिथिला क्षेत्रमा हरेक वर्ष दुईपटक छठ पर्व मनाइन्छ। कात्तिक शुक्लपक्ष चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई ‘शारदीय छठ’ भनिन्छ भने चैत शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई ‘वासन्ती’ वा ‘चैती छठ’ भनिन्छ। दुवै पर्वमा सूर्यदेव तथा षष्ठीदेवी (छठीदेवी) को उपासना गरिन्छ।
अघिल्लो केही दशकसम्म मिथिला र तराई क्षेत्रको प्रमुख पर्व मानिएको छठ हाल नेपालभर विस्तार भइसकेको छ। साझा सांस्कृतिक पहिचानको रूपमा स्थापित यो पर्वलाई लोकआस्थाको महापर्वका रूपमा सम्मान गरिन्छ।