काठमाडौं, वैशाख २५ – नेपाली पत्रकारिता क्षेत्रका एक स्तम्भ, वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको छ। मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका उनलाई आइतबार राति काठमाडौंको बानेश्वरस्थित एक अस्पतालमा अन्तिम श्वास लिएको भाइ पुरु रिसालले जानकारी दिएका छन्।
वि.सं. १९८५ साउन २९ गते भक्तपुरको तिथली गाउँमा जन्मिएका रिसाल नेपाली पत्रकारिता र सामाजिक उत्तरदायित्वका प्रेरणास्रोत मानिन्छन्। राष्ट्रिय समाचार समिति (रासस) मा प्रमुख समाचारदाताको रुपमा लामो समय काम गरेका उनले त्यसअघिसम्म तथ्याङ्क विभागमा कार्यरत रहँदै लिम्पियाधुरा क्षेत्रसम्म पुगेर जनगणनासमेत गरेका थिए।
रिसालले रेडियो सगरमाथामा ‘उहिले बाजेका पालामा’ शृङ्खला सञ्चालन गरेर रेडियो पत्रकारितामा नवीन प्रयोग गरेका थिए। उनी वि.सं. २०४८ को आमनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुरबाट उम्मेदवारसमेत बनेका थिए।
मानव अधिकार, वातावरण संरक्षण र साहित्यिक योगदानको क्षेत्रमा अतुलनीय योगदान दिएका पत्रकार रिसाललाई मानव अधिकार पुरस्कार, जगदम्बा श्री पुरस्कारलगायत सम्मानहरू प्राप्त छन्। उनले यसअघि नै मृत्युपछि आफ्नो शरीर पाटन अस्पताललाई अध्ययनको लागि दान गर्ने घोषणा गरेका थिए।
पत्रकारिताका अतिरिक्त उनको साहित्यिक यात्रा पनि स्मरणीय छ। उनका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’, ‘भैरव दाइ’ लगायत कृति प्रकाशित छन्।