साँस्कृतिक अस्तित्व सँगै जिइरहेका बर्मेली नेपालीहरु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

रत्न तामाङ

यस लेख मा दक्षिण पूर्वी एसियामा अवस्थित देश म्यानमारमा आफ्नो सांस्कृतिक अस्तित्व सहित बसिरहेका बर्मेली नेपालीहरु बारे विशेष चर्चा गरिएको छ।म्यानमारमा नेपालीहरु कसरी पुगे? यसको ऐतिहासिक पृष्ठभूमि र भूराजनीति बारे ऐतिहासिक पृष्ठभुमि बारे प्रकाश पार्ने कोसिस गरिएको छ।

दक्षिण पूर्वी एसियामा अवस्थित सुन्दर देश म्यानमार। जसको पुरानो नाम म्यानमा अर्थात बर्मा हो।
म्यानमार को  उत्तर पश्चिममा बंगलादेश र भारत, उत्तर पूर्वमा चीन, पूर्व र दक्षिण पूर्वमा लाओस, दक्षिण र दक्षिण पश्चिममा बंगालको खाडी रहेको छ।कुल क्षेत्रफल ६ लाख ७६ हजार ५७८ वर्ग किलोमिटर रहेको म्यानमारको कुल जनसंख्या भने करिब ६ करोडको हाराहारीमा मात्रै रहेको छ।विशाल भौगोलिक आकारमा फैलिएको म्यानमार एसियाली ठूला राष्ट्रहरु मध्येकै एक हो।
१९ औ शताब्दीतिर म्यानमारको आधुनिक इतिहासको सुरुवात भएको पाइन्छ। त्यतिबेलाको म्यानमारले हाल भारतका मणिपुर र आसामलाई समेत आफ्नो भूगोलमा गाभेका थिए।सन् १८२४ मार्च ५ तारिकको दिन ब्रिटिश सेनाले म्यानमार माथि भिषण आक्रमण गर्यो।ब्रिटिश साम्राज्यवाद विरुद्ध म्यानमारले १ वर्ष ११ महिना र १९ दिन सम्म लगातार युद्ध लडिरहे। अन्तत: अत्याधुनिक हतियार भएको ब्रिटिश सेना सामु सन् १८२६ फेब्रुअरी २४ तारिकको दिन आत्मसमर्पण गर्नु पर्यो।यसरी म्यानमारले आफ्नो स्वतन्त्र राष्ट्रको हैसियत गुमायो।
  नेपालीहरु म्यानमारमा पहिलो पटक कहिले पुगेको थियो त?यसको  यकिन मिति नभए पनि यही विश्व युद्धकै क्रममा ब्रिटिश सेनामा भर्ती भएर पहिलो पटक सन् १८३५ तिर म्यानमार छिरेका थिए।दबर्मा गए पनि कर्म सँगै जान्छ भन्ने उखानसँगै नेपाल भन्दा करिब ३००० किलोमिटर टाढा रहेको सुन्दर देश म्यानमारमा नेपाली मुलका गोर्खालीहरु ठूलो संख्यामा बस्दै आएका छन्।ब्रिटिश सेनामा भर्ती भएर म्यानमार पुगेका नेपालीहरुको संख्या आज १ लाखको हाराहारीमा कसरी पुग्यो त? आउनुहोस् यसबारे चर्चा गरौ।विश्व युद्धताका म्यानमार पुगेका गोर्खाली सैनिकहरुले बर्मा देशका सुन्दरता, उर्वर भूमि र सहज प्रवेश बारे नेपालका आफन्तहरुलाई सन्देश पठाउन थाले।ब्रिटिश शासन भएकै कारण म्यानमारमा नेपालीहरु सहजै प्रवेश गर्न पाए।
         एरावती नदी किनार नेपाल जस्तै भू बनोट र उर्वर माटो नेपालीहरुको रोजाइमा पर्यो।नेपालीहरु म्यानमारको तमु, म्यान्डले, मेम्यो, मगोक, कचिन, यांगुन लगायतका क्षेत्रमा छरिएर बस्न थाले।उर्वर भूमि, घाँसपात सहजै पाइने र खेती गर्ने जमिन किन्न नपर्ने भएपछि नेपालीहरुले त्यही बाझो जमिनमा कृषि कर्म गर्न थाले।मिजासिला, स्वभावका नेपालीहरुलाई स्थानीय बर्मेलीहरुले पनि आफू जस्तै ठानेर मायालु व्यवहार गर्न थाले।अर्थात गोर्खाली नेपालीहरुलाई म्यानमार समाजले रातो कार्पेट ओछ्याएर स्वागत गरे।यसरी दोस्रो विश्व युद्ध अघि नै नेपालीहरु म्यानमार भित्र बस्न सुरु गरिसकेका थिए।कलकत्ता, अन्डमान र मणिपुरको मोडे गाउँ हुँदै नेपालीहरु म्यानमार पुगेका थिए।त्यतिबेला सम्म बर्मेलीहरु मक्खन र घिउ बनाउन जान्दैन थिए। गोर्खालीहरु त्यहाँ पुग्नासाथ त्यही काम सुरु गरे।दुग्ध उत्पादनमा गोर्खाली नेपालीहरुले कडा परिश्रम गर्न थाले।मुख्यत: म्यानमारको पहाडी सहर मेम्योका गोर्खालीहरुले मक्खन र घिउ उत्पादन सुरु गरे। त्यसका लागि मेम्योका तत्कालिन गोर्खालीहरु स्वर्गीय इन्द्र खरेल, थानेश्वर घिमिरे, लक्ष्मण प्रसाद प्रधान, शोभाकर पाण्डे लगायतले लगानी गरेर मेम्यो वाटर बटर हाउस नै स्थापना गरे।उनीहरुले बहुमुल्य रुबी र मुगा जस्ता रत्नको कारोबार समेत गर्न  थाले।बर्माका सबै व्यापारिक क्षेत्रमा नेपाली गोर्खालीहरु जम्न थाले।यसरी एकातिर गोर्खालीहरु म्यानमारका कृषि र व्यापारिक क्षेत्रमा एकै साथ सानदार प्रवेश गर्दै थिए भने अर्कोतिर म्यानमार भने आन्तरिक किचलोका कारण चरम राजनीतिक संकटमा फस्दै थियो।राजनीतिक संकट गहिरिदै जाँदा सन् १९६२ मा बर्मेली सेनाले सैनिक कु गरेर सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लियो।
यसरी देशको सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको सेनाले सन् १९६३ मा सबै निजी सम्पत्ति राष्ट्रियकरण गरिदिए। जसलाई सैनिक सत्ताले बर्मेली मौलिक समाजवादको रुपमा व्याख्या गरे।
यो निर्णयले भर्खरै व्यापारिक र कृषि क्षेत्रमा प्रवेश गरेका गोर्खालीहरु भने प्रत्यक्ष रुपमा मारमा परे।म्यानमारमा सैनिक शासन भएपनि गोर्खालीहरुलाई बर्मेली सरह नै व्यवहार गरिन्थ्यो। उनीहरुले योग्यता अनुसार चाहेको क्षेत्रमा काम गर्न पाउथे। म्यानमार सेनामा १३ वर्ष काम गरेर फर्किएका हाल रुपन्देही छपकैया बस्ने ७६ वर्षीय वीर बहादुर थापा बर्मेली राष्ट्रिय सेनामा समेत उच्च ओहोदामा नेपालीहरु पुगेको बताउँछन् – “नेपाली गोर्खाली हरुलाई म्यामा सरकारले धेरै नै माया गर्थ्यो। र पदमा पनि आर्मीमा पनि ठुल ठुलो ओहोदामा हाम्रा फुल कर्नेल शंकर धोज नेपाल र लेफ्टिनन्ट कर्नेल केबी राई, लेफ्टिनन्ट कर्नेल लक्ष्मण राई र फुटबल मेन पनि नाम कमाउने हाम्रो सुभ थापा हुनुहुन्थ्यो भने लोक गाना गाउ गाउदै हिड्ने हाम्रो रकी थापा हुनुहुन्थ्यो र नेपालको सन्देश त्यो गानाबाट धेरै फिजाउने काम भइरहेको थियो।”
      सन् १९६१ मा राजा महेन्द्र म्यानमार भ्रमणमा निस्किएका थिए। त्यही बेला गोर्खालीहरुले राजा महेन्द्रसँग भेट्ने अवसर पाए। राजा महेन्द्रले नेपाल फर्कन चाहनुहुन्छ भने आउनुस्, हामी रोजगारी र जग्गा उपलब्ध गराइदिन्छौँ भन्ने बचन दिएपछि धेरै नेपाली बर्मेलीहरु स्थायी रुपमा नेपाल फर्किएका थिए।यद्यपि कसैलाई पनि बर्मा सरकारले देश निकाला गरेका भने थिएनन्। ठूलो संख्यामा उनीहरु स्वतस्फूर्त रुपमा नेपाल फर्किए र पूर्वको मोरङ देखि पश्चिमको भैरहवा सम्म फैलिएर बस्न थाले।
त्यतिबेला करिब १ लाख नेपालीहरुले बर्मा छाडेर नेपाल भित्रिएका थिए। बर्मेली सैनिक शासनकै बीच करिब ८० हजार नेपालीहरु थाइल्याण्ड छिरे र स्थायी बसोबास गर्न थाले।यसरी आजको मितिसम्म आइपुग्दा म्यानमारमा करिब १ लाख नेपालीहरु बसोबास गरिरहेका छन्। सैनिक शासन चलिरहेको वर्तमान साँझहरुमा पनि बर्मेली नेपालीहरु आफ्नै भाषाको गीतहरु गाउँदै सुख दुख साटिरहेका छन्।
 बर्मेली नेपालीहरु जो नेपालबाट हजारौ किलोमिटर टाढा रहेर पनि आफ्नो भाषा, संस्कृति र मौलिक परम्परालाई जोगाएर राखेका छन्। दशैं, तिहार, जस्ता चाड पर्वहरु धुमधामसँग मनाउछन्। नेपाली हुनमा गर्व गर्छन्। सयौ वर्ष पहिले नेपाल छाडे पनि नेपाली मौलिक संस्कृतिलाई जस्ताको तस्तै जोगाई राखेका छन्। यो आम नेपाली समुदायको लागि गर्वको विषय हो।  आ आफ्नो परम्परा र संस्कृतिमा आ-आफ्नो देवी देवता पुज्दै मिलेर बसेका नेपाली बर्मेलीहरुको बर्मेली समाजमा पनि उच्च सम्मान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *