जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ।
महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली रहनेछ। यी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहनेछ। साथै, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।