म्याग्दीमा कोदोको पिठोबाट बिस्कुट उत्पादन, व्यवसायीले बनाए स्थानीय ब्रान्ड

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

म्याग्दीमा कोदोको पिठोबाट बिस्कुट उत्पादन, व्यवसायीले बनाए स्थानीय ब्रान्ड

म्याग्दीको धवलागिरी गाउँपालिका-७ ताकममा पहिलोपटक कोदोको पिठोबाट बिस्कुट उत्पादन सुरु गरिएको छ। धौलागिरी बेकरी, क्याफे एण्ड एग्रो मार्टका सञ्चालक अनिल भण्डारी र निमा छन्त्याल भण्डारीले स्थानीय स्रोतलाई उपयोग गर्दै कोदो बिस्कुट उत्पादन सुरु गरेका हुन्।

बेकरी सञ्चालक भण्डारीले ‘ओभन मेसिन’मा पकाएर बिस्कुट उत्पादन गरिरहेको जानकारी दिए। उनले भने, “गाउँमै फल्ने कोदोको पिठोलाई मह, उखुको खुदो, चिनी र काउलोको धुलोसँग मिसाएर बिस्कुट तयार पार्छौं। स्थानीय बजारका साथै पर्यटक र पाहुनाहरुले पनि कोसेलीका रूपमा लैजानुहुन्छ।”

स्वास्थ्यका लागि लाभदायक

कोदोबाट बनेको बिस्कुटलाई प्राकृतिक रूपमा गुलियो बनाउन मह र उखुको खुदो मिसाइएको छ, जुन शक्तिवर्धक मानिन्छ। काउलोले बिस्कुट रोटी टुक्रा पर्न नदिन मद्दत गर्छ।

मह र उखुको खुदो मिसाइएको बिस्कुट प्रति दर्जन रु. २५० र चिनी मिसाइएको बिस्कुट प्रति दर्जन रु. १३० मा बिक्री भइरहेको छ।

स्थानीय उद्योग प्रवर्द्धनको प्रयास

३७ वर्षीय भण्डारी लामो समय विदेशमा श्रम गरेर फर्किएका हुन्। मलेसिया, कतार, साउदी र युएईमा गरी करिब नौ वर्ष बिताएका उनले स्वदेशमै स्वरोजगार बन्ने लक्ष्यसहित यो व्यवसाय थालेका हुन्।

उनले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट बिस्कुटको प्रयोगशाला परीक्षण गराई नियमित उत्पादनको तयारी गरिरहेका छन्। मागका आधारमा बिस्कुट उत्पादन गरी बिक्री गर्दै आएका उनले हाल भाडाको घरमा व्यवसाय सञ्चालन गरिरहेका छन्। तर, आफ्नै जग्गामा करिब रु. ७५ लाख लगानीमा पूर्वाधार निर्माण गरिरहेका छन्।

कोदो खेती र व्यवसायमा योगदान

धवलागिरी गाउँपालिका–७ का वडाअध्यक्ष अशोक खत्रीले कोदो बिस्कुट उत्पादनले स्थानीय उत्पादनलाई ब्रान्ड बनाउन सहयोग पुग्ने बताए। “गाउँमै उद्योग स्थापना गरी बजार विस्तार गर्न सके किसानलाई फाइदा पुग्छ। यो व्यवसायले आयात प्रतिस्थापनमा समेत टेवा पुर्‍याउनेछ,” वडाअध्यक्ष खत्रीले भने।

स्थानीय स्तरमा उत्पादित कोदो बिस्कुटलाई बजारमा स्थापित गर्न सकिए कोदो खेतीको विस्तारका लागि पनि प्रेरणा मिल्ने देखिन्छ। स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै स्थानीय कृषिलाई प्रवर्द्धन गर्न सके यसले दीर्घकालीन आर्थिक लाभ पुर्‍याउने आशा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *