“नियमित मोही सेवन: स्वस्थ र फूर्तिलो जीवन” भन्ने नाराका साथ नेपाल डेरी एसोसिएसनले शनिबार मोही दिवस मनाएको छ। राजधानीको दरबार मार्गस्थित रैथाने कृषि उपज बिक्री केन्द्रमा परम्परागत ठेकीमा झारेर निःशुल्क मोही वितरण गर्दै आएको यो अभियान अहिले जनस्वास्थ्यसँगै सांस्कृतिक पहिचानको प्रतीक बनेको छ।
एसोसिएसनका अनुसार हाल देशभर २५ वटा डेरी उद्योगले मोहीलाई प्याकेजिङ र लेबलिङ गरी बजारमा ल्याइरहेका छन्। दैनिक २५ हजार लिटर प्याकेजिङ गरिएको मोही बजारमा खपत भइरहेका छन् भने करिब १ लाख लिटर मोही अनौपचारिक रूपमा उपभोग भइरहेका छन्।
८५ सातादेखि सञ्चालित निःशुल्क मोही वितरण अभियान अन्तर्गत हालसम्म २५ हजार लिटर मोही झन्डै २ लाख जनासम्म पुगिसकेको छ। यसका लागि करिब २० लाख रुपैयाँ बराबरको मोही वितरण गरिएको नेपाल डेरी एसोसिएसनका अध्यक्ष एवं मोही अभियानका अगुवा प्रल्हाद दाहालले जानकारी दिए।
दाहालका अनुसार, “पहिला मोही लुकेर पिइने पेय मानिन्थ्यो। तर आज यो अभियानले मोहीलाई गौरवका साथ सार्वजनिक रूपमा सेवन गर्ने संस्कृतिको सुरुवात गरिदिएको छ।”
नेपाल डेरी एसोसिएसनले प्रत्येक शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म दरबारमार्गमा मोहीको स्वाद लिन आम सर्वसाधारणलाई स्वागत गर्दै आएको छ।