काठमाडौं, जेठ १३ – राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि काठमाडौंमा सुरु गर्न लागेको आन्दोलनको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण जनाएको छ।
आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन चेतावनी दिएको हो। प्रधानमन्त्री ओलीले “जेठ १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ” भन्ने अभिव्यक्ति सार्वजनिक रूपमा दिएका थिए। आयोगले उक्त अभिव्यक्तिप्रति गम्भीर असन्तुष्टि जनाएको छ।
आयोगका अनुसार शान्ति र सुरक्षा कायम राख्नु सरकार तथा सुरक्षा निकायको जिम्मेवारी हो। तर, सरकारको नेतृत्वमा बसेका व्यक्तिबाट यस्ता निर्देशनमूलक अभिव्यक्ति आउनु विधिको शासनको भावना विपरीत रहेको आयोगको भनाइ छ।
विज्ञप्तिमा भनिएको छ, “लोकतान्त्रिक व्यवस्थामा कुनै पनि व्यक्ति, समूह वा पार्टीलाई आफ्नो विचार राख्न र प्रदर्शन गर्न पाउने अधिकार सुनिश्चित गरिएको छ। तर, अर्काको विचारप्रति लक्षित हुँदै मुठभेड निम्त्याउने भाषा प्रयोग गर्नु मानव अधिकारका मूल्य र मान्यताको उल्लंघन हो।”
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा सबै पक्षलाई संयमित अभिव्यक्ति दिन, नकारात्मक टिप्पणीबाट बच्न र विरोध प्रदर्शनहरू शान्तिपूर्ण बनाउन आग्रह गरिएको छ। साथै, राजधानीलगायतका क्षेत्रमा शान्ति सुरक्षा मजबुत बनाउन सुरक्षा निकायलाई विशेष जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न सुझाव दिइएको छ।