आमाको मुख हेर्ने पर्व आज श्रद्धा र भक्ति पूर्वक मनाइँदै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

देशभर आज वैशाखकृष्ण औँसीका अवसरमा आमाको मुख हेर्ने पर्व श्रद्धा, भक्ति र आदरभावका साथ मनाइँदैछ। जन्मदाता आमालाई सम्मान र कृतज्ञता व्यक्त गर्दै सन्तानले मिठा–मिठा खानेकुरा खान दिई आशीर्वाद थाप्ने परम्परा रहिआएको छ।

शास्त्रीय मान्यताअनुसार उपाध्याय, आचार्य र पिताभन्दा पनि आमाको स्थान उच्च रहेको उल्लेख गरिएको छ। वैदिक सनातन ग्रन्थहरूमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भनिएको उल्लेख गर्दै धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले आमाको महत्व स्वर्गभन्दा पनि उच्च रहेको बताए।

परम्पराअनुसार छोराछोरीहरूले बिहानै उठी नुहाएर आमालाई राम्रा लुगा लगाइदिने र शक्तिदायक मिठा परिकारहरू खान दिई आशीर्वाद थाप्ने चलन छ। आमाविहीनहरूले दिवङ्गत आमाका नाममा तर्पण, पिण्डदान तथा सिदादान गरी श्रद्धापूर्वक सम्झना गर्ने गर्दछन्।

वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे आमा खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको भट्टराईले बताए।

यसै अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज मेला आयोजना हुँदैछ। नगरप्रमुख घनश्याम गिरीका अनुसार मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको छ।

यसैबीच, गुरु अस्त र केही देशहरूमा देखिएको सूर्यग्रहणका कारण आमाको मुख हेर्न नहुने भनी गरिएको प्रचार सही नभएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्पष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *