गायिका सुस्मिता स्याङतानको आवाजमा “कुलमानलाई फालेर” गीत सार्वजनिक भएको छ। नेपाललाई लोडसेडिङको अँध्यारोबाट उज्यालोतिर लैजाने व्यक्तित्व कुलमान घिसिङको सम्मानमा रचिएको यो गीतले सामाजिक सञ्जालमा चर्चा बटुल्दै छ।
सुस्मिता स्याङतानको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो देशभक्तिपूर्ण गीतले कुलमान घिसिङलाई सच्चा राष्ट्रसेवकको रूपमा चित्रण गर्दै उनको इमानदार नेतृत्वप्रतिको आदर व्यक्त गरेको छ। साथै, राजनीतिक प्रभावका कारण इमानदार व्यक्तिहरूको अकाल विदाइप्रति गम्भीर प्रश्न उठाएको छ।
गीतको गीत, संगीत र सिर्जना विवेक लोप्चनले गरेका हुन् भने संगीत संयोजन कुनसाङ दोर्जे लोप्चनको रहेको छ। अर्जुन न्यौपानेले सहयोगी स्वर दिएका छन्। ध्वनि सम्पादन गोविन्द सोनीले गरेका छन् भने रेकर्डिङ सबिर कार्कीले कुपण्डोलस्थित हुरी रेकर्डिङ स्टुडियोमा गरेका हुन्।
भिडियो निर्माणमा निर्देशक र क्यामराम्यान विशाल सापकोटा र सम्पादन तथा रंग संयोजन त्रिलोक लामाले गरेका छन्। यस गीतलाई सामाजिक सन्देश र राष्ट्रप्रेमको अभियानको रूपमा प्रस्तुत गरिएको छ।
गीतले हाल नेपालमा इमानदार र जनमुखी नेतृत्वको आवश्यकतालाई उजागर गरेको छ। दर्शक, श्रोता र देशप्रेमी युवाहरूले यसलाई “जनताको आवाज” भन्दै सोशल मिडियामा साझा गरिरहेका छन्।