मच्छिन्द्र क्लब जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बारा, जीतपुरसिमरा । मच्छिन्द्र फुटबल क्लबले जीतपुरसिमरा गोल्डकपको १५औं संस्करणको सेमीफाइनलमा स्थान बनाएको छ। साविक विजेता नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै मच्छिन्द्र अन्तिम चारमा प्रवेश गर्न सफल भयो।

मच्छिन्द्रको जितमा गोलरक्षक विशाल सुनार नायक बने। खेलको म्यान अफ द म्याच घोषित विशालले टाइब्रेकरमा पुलिसको अन्तिम महत्वपूर्ण प्रहार विफल पार्दै टोलीलाई जित दिलाए। उनले नगद १० हजार रुपैयाँ र ट्रफी प्राप्त गरे, जुन सिप्रदी ट्रेडिङ्ग वीरगञ्जका प्रमुख सन्दिप गुप्ता र ग्रिन इनर्जीका शैलेस साहले प्रदान गरेका थिए।

टाइब्रेकरमा मच्छिन्द्रका विशाल सुनार, विपन श्रेष्ठ, अशिम गुरुङ्ग र पुजन श्रेष्ठले गोल गरेका थिए। विवेक राईको प्रहार भने गोलपोष्ट बाहिर गयो। पुलिसका तर्फबाट अमित टमाटा, पुजन राई र कप्तान मानबहादुर परियारले गोल गरे भने विवेक पाण्डेको प्रहार बाहिरियो र अरुण गाहाको प्रहार मच्छिन्द्रका गोलरक्षकले पञ्च गर्दै बचाए।

खेलको नियमित ९० मिनेटमा दुवै टोलीले १–१ गोल गर्दै बराबरी खेलेका थिए। दोस्रो हाफको शुरुवातमै पुलिसले विवेक पाण्डेको करिब २५ यार्ड दूरीबाट प्रहार गरिएको फ्रिकिकमार्फत अग्रता बनाएको थियो। मच्छिन्द्रका रेजिन सुब्बाले पुलिसका प्रज्वल चौधरीलाई फाउल गरेपछि उक्त फ्रिकिक अवसर आएको थियो।

खेलको ६१औं मिनेटमा मच्छिन्द्रले बराबरी गोल फर्कायो। पुलिसका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा अनिल रानामगरको सर्ट पासलाई राजिव लोप्चनले गोलमा परिणत गरेका थिए।

रोमाञ्चक खेल हेर्न करिब ७ हजार दर्शक सिमरा रंगशालामा उपस्थित थिए। खेलभर दुवै टोलीले उल्लेखनीय अवसर गुमाएका थिए। खेलको १७औं मिनेटमा पुलिसका अरुण गाहाको उत्कृष्ट प्रहार मच्छिन्द्रका डिफेन्डर आशिष श्रेष्ठले गोललाइनबाट बचाए। अनुप लिम्बुले बनाएको आकर्षक प्रहारलाई विशाल सुनारले पञ्च गरेर बचाए। खाली पोस्टमा पुगेको रिबाउन्ड बलमा अरुण गाहाले पुन: प्रहार गर्दा आशिष श्रेष्ठले हेडिङमार्फत क्लियर गरे।

७५औं मिनेटमा मच्छिन्द्रका अनिल खड्काले अनिल रानामगरको क्रसमा शानदार अवसर गुमाए भने ७९औं मिनेटमा पुलिसका प्रविण थापाको प्रहार विशाल सुनारले पञ्च गर्दै जोगाए।

प्रतियोगिताअन्तर्गत सोमबार अन्तिम क्वार्टरफाइनलमा हिमालयन शेर्पा र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *