“भाइरल हुने लोभले कांग्रेसमा जे पनि बोल्ने प्रवृति बढ्यो : डा. आरजु राणा”

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

इलाम, 
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भाइरल हुने नाममा जे पनि बोल्ने प्रवृत्ति बढेको भन्दै त्यसले नेपाली कांग्रेसमा नकारात्मक असर पारिरहेको बताएकी छन्।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति इलामले आज श्रीअन्तुमा आयोजना गरेको अग्रज कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले मिडियामा कभरेज पाउनकै लागि कतिपय नेताहरू पार्टीविरुद्ध समेत बोल्ने प्रवृत्ति देखिएको उल्लेख गरिन्।

उनले भनिन्, “यस्ता अभिव्यक्तिले कसैलाई भाइरल बनाउँला, तर यसले पार्टीलाई कति क्षति पुर्याउँछ भन्ने विषयमा सोच्न जरुरी छ।”
उनका अनुसार यस्ता गतिविधिले पार्टीका केन्द्रदेखि स्थानीय तहका कार्यकर्तामा निराशा पैदा गरिरहेको छ।

उनले पार्टीभित्र असन्तुष्टि वा गुनासा भए त्यसलाई सार्वजनिकरूपमा प्रस्तुत गर्नुभन्दा पार्टीभित्रै छलफल गर्ने संस्कार बसाल्नुपर्ने सुझाव दिइन्।

सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेसले पछिल्लो स्थानीय र संसदीय निर्वाचनमा सबैभन्दा ठूलो दलको रूपमा आफूलाई स्थापित गर्न सफल भएको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा कुनै पनि पार्टीसँग गठबन्धन नगरी एक्लै प्रतिस्पर्धामा जाने रणनीति रहेको खुलासा गरिन्।
त्यसका लागि अहिलेबाटै पार्टीलाई अझ व्यवस्थित र बलियो बनाउने अभियान थाल्नुपर्नेमा उनले जोड दिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *