दलित समुदायलाई लक्षित गर्दै इलाम-९ मा बाख्राको पाठी वितरण, आत्मनिर्भर जीवनतर्फ कदम

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

इलाम नगरपालिका–९ ले आर्थिक रूपले कमजोर दलित परिवारहरूलाई लक्षित गर्दै बाख्राको पाठी वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको उद्देश्य स्थानीय दलित समुदायलाई पशुपालनमार्फत आयआर्जनमा प्रेरित गर्नु तथा जीवनस्तरमा सुधार ल्याउनु रहेको वडा कार्यालयले जनाएको छ।

वडा नं. ९ का वडाध्यक्ष गोपाल चौहानले कार्यक्रमको प्रमुख अतिथि रहँदै भने, “बिपन्न दलित परिवारलाई आत्मनिर्भर बनाउन सानो प्रयास स्वरूप बाख्राको पाठी वितरण गरिएको हो। स्थानीय सरकारको प्रमुख जिम्मेवारी जनताको दुःखमा साथ दिनु हो।” उनले सामाजिक न्याय, समान अवसर र समावेशी विकासलाई निरन्तर प्राथमिकतामा राख्दै आएको वडा कार्यालयले भविष्यमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, वडा कर्मचारीहरू र लाभग्राहीहरूको उल्लेखनीय उपस्थिति थियो। लाभान्वितमध्ये एक स्थानीयवासी फुलमाया सुन्दासले भनिन्, “हामीजस्ता गरिबका लागि सरकारले यस्तो ठूलो सोच राखिदिएकोमा निकै खुसी लागेको छ। अब बाख्रा पालनबाट आम्दानी गर्न सक्ने आशा छ।”

दर्जनौं दलित परिवार लाभान्वित भएको यस कार्यक्रममा वडा कार्यालयका कर्मचारी, महिला समूह, युवा स्वयंसेवक तथा विभिन्न स्थानीय संघसंस्थाहरूको सहकार्य रहेको थियो। स्थानीय विश्लेषकहरूले यस्ता कार्यक्रमले दीर्घकालीन रूपमा समावेशी विकासलाई टेवा पुर्‍याउने र समुदायमा सकारात्मक असर पार्ने विश्वास व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *