बस दुर्घटना हुदाँ ३ जनाको मृत्यु, २३ जना घाइते

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

उदयपुर । उदयपुरको गाईघाटबाट झापाको काँकडभिट्टा आउँदै गरेको यात्रुबस आइतबार मध्यान्ह दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ भने  २३ जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गको सप्तरीस्थित कन्चनरुप नगरपालिका–१० को बदगामा बस अनियन्त्रित भएर पल्टिएको हो। इलाका प्रहरी कार्यालय कन्चनपुरका डीएसपी माधवप्रसाद काफ्लेले बस आफैं पल्टिएको बताए।

दुर्घटनामा सप्तरीको सप्तकोशी नगरपालिका–१ का ७५ वर्षीय रत्नबहादुर मगरातीसहित एक पुरुष र एक महिलाको मृत्यु भएको छ। गम्भीर घाइते भएका मगरातीलाई उपचारका लागि विराटनगर ल्याइए पनि अस्पताल पुग्नासाथ उनलाई मृत घोषणा गरिएको थियो। अरू दुई जनाको भने बसले च्यापेर घटनास्थलमै ज्यान गएको हो। उनीहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

बसमा ३५ जना यात्रु सवार थिए। दुर्घटनामा परेका २३ जना घाइते भएका छन्। घाइतेहरूको विराटनगरको गोल्डेन अस्पताल र कन्चनरुप नगर अस्पतालमा उपचार भइरहेको छ। केहीको अवस्था गम्भीर छ भने केहीको अवस्था सामान्य रहेको छ।

 

घाइते हुनेहरूमा सुवेता दाहाल, चेतना भट्टराई, विजय विक, मनोज भट्टराई, मीना भट्टराई, कमला भुसाल, नरमाया मगर, भरत यादव, महमद असलम, वीरेन्द्र ठाकुर लगायत अन्य रहेका छन्।

यस्तै, सविता थापा, सुष्मा विष्ट, पवित्रा मगराती, विमलादेवी ठाकुर, मायादेवी थापा, श्याकुमार सदा, मनोज सदा, सनावती चौधरी, निर्मला गुप्ता, पुजनदेवी सिलवाल, गीता सिलवाल र बमबहादुर कार्की पनि घाइते भएका छन्।

बस चालक झापा मेचीनगर–७ का ४७ वर्षीय अमृत दर्जीलाई प्रहरीले नियन्त्रणमा लिइ दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *