फागु पूर्णिमा, जसलाई होली पर्व पनि भनिन्छ, असत्यमाथि सत्यको विजय तथा पारिवारिक एवं सामाजिक एकताको प्रतीकका रूपमा मनाइन्छ। पहाडी जिल्लाहरूमा आज र तराईका जिल्लाहरूमा भोलि यो पर्व हर्षोल्लासका साथ मनाइन्छ।
यस दिन एकआपसमा रङ तथा अबिर लगाउने परम्परा छ। काठमाडौँको वसन्तपुरमा गाडिएको चीरलाई विधिपूर्वक ढाली, बाजागाजाका साथ टुँडिखेलमा लगी जलाइन्छ। चीरका ध्वजापताका औषधोपचारमा उपयोगी मानिँदै लुछाचुँडी गरेर लिने चलन छ।
फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मैलको रुखमा रंगीचंगी ध्वजापताका झुन्ड्याइन्छ, जसको पूजाआजा गरेपछि फागु पर्वको सुरूवात हुन्छ। आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालबाट ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने परम्परा छ।
फागु पर्वका धार्मिक कथा मध्ये एक त्रेता युगसँग सम्बन्धित छ। दैत्यराज हिरण्यकश्यपुले आफ्नो पुत्र प्रह्लादलाई मार्न आगोले नछुने वरदान प्राप्त बहिनी होलिकासँग आगोमा बस्न लगाउँदा होलिका भष्म भइन् तर विष्णुभक्त प्रह्लादलाई केही भएन। यही घटनाको सम्झनामा होली मनाउने परम्परा बसेको विश्वास गरिन्छ।
द्वापर युगमा, कंशद्वारा श्रीकृष्णलाई मार्न पठाइएकी राक्षसी पुतनाले विष मिश्रित दूध पिलाउन खोज्दा असफल भई मरण वरण गरिन्। त्यसपछि व्रजवासीलगायतले होली पर्व मनाउने परम्परा थालेका थिए भन्ने धार्मिक विश्वास छ।
होली खेल्न प्रयोग गरिने प्राकृतिक रङ तथा अबिरले छालाका रोग निवारण गर्ने गुण रहेको मानिन्छ। साथै, चीर जलाउँदा निस्कने धुवाँले शीतकालीन रोगका कीटाणु नष्ट गर्ने विश्वास गरिन्छ।
सरकारले परम्परागत रूपमा फागु पूर्णिमाको अवसरमा सार्वजनिक बिदा दिने चलन छ। तराई क्षेत्रमा भने पूर्णिमाको भोलिपल्ट यो पर्व मनाइन्छ।