प्री मनसुन सक्रिय भएसँगै देशका विभिन्न भागमा चट्याङ लागेर मृत्यु हुने र घाइते हुनेको संख्या बढ्दो क्रममा छ। चैत २७ यता मात्रै चट्याङ लागेर ८ जनाको मृत्यु भइसकेको छ भने पछिल्लो तीन दिनमा २८ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार चालु वर्षको वैशाखदेखि चैत २८ गतेसम्म कुल ७८ जनाले चट्याङका कारण ज्यान गुमाएका छन्। यस अवधिमा चट्याङ लागेर ३०९ जना घाइते भएका छन् भने ५५६ घरपरिवार प्रभावित भएका छन्। यसबाट करिब एक करोड ४३ लाख रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।
प्रवक्ता केसीका अनुसार चट्याङबाट आम नागरिकलाई सुरक्षित राख्न प्राधिकरणले विभिन्न माध्यमबाट सचेतनामूलक सूचना प्रवाह गरिरहेको छ। “फेसबुक, एक्स, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल र आमसञ्चारमाध्यममार्फत चट्याङबाट बच्ने उपायबारे जनतालाई जानकारी दिइरहेका छौँ,” केसीले बताउनुभयो। साथै, बदलिँदो मौसममा चट्याङबारे पूर्वसूचना दिन ‘सतर्क’ नामक पूर्वसूचना कार्यक्रम पनि सञ्चालनमा ल्याइएको छ।
चट्याङबाट जोगिन अपनाउनुपर्ने सावधानीहरू
मौसमविद् प्रतिभा मानन्धरका अनुसार प्री मनसुनको समयमा वायुमण्डलीय दबाब र तापक्रमको उतारचढावका कारण चट्याङ पर्ने सम्भावना बढ्छ। त्यसैले वर्षा हुने सम्भावना देखिएमा बाहिर ननिस्कन, यात्रा नगर्न र खेतबारीमा काम नगर्नु सुरक्षित उपाय हो।
घरभित्रै रहँदा पनि विशेष सावधानी आवश्यक हुन्छ। बिजुलीका उपकरणहरू नचलाउने, मोबाइल, टेलिभिजन बन्द गर्ने, बत्ती र इन्टरनेट काट्ने, झ्याल ढोकाबाट बाहिर नहेर्ने, र मोबाइलले बाहिरका तस्बिर नखिच्ने मौसमविद्हरूको सुझाव छ। साथै, गाडीमा यात्रा गरिरहेको अवस्थामा गाडीभित्रै बस्न र खुला स्थानमा परेमा हातले टाउको छोपेर घुँडा टेकेर बस्नुपर्ने सुझाव दिइएको छ। रुख वा बिजुलीको पोलमुनि बस्न भने कदापि नहुने चेतावनी दिइएको छ।
दक्षिण एशियाली देशहरू नेपाल, भारत, बङ्गलादेश, र भुटानमा प्री मनसुनको समयमा चट्याङ बढी पर्ने गर्दछ। पछिल्ला केही दिनमा मात्र भारतमा चट्याङका कारण ६० जनाको मृत्यु भएको रिपोर्टहरू आएका छन्।