कास्की । पोखरा महानगरपालिका वडा नम्बर २१ मा पोखरी मिचेर घर बनाउन खोज्ने विषयलाई लिएर विवाद भएको छ। शनिबार नगर प्रहरीसहित पुगेका वडाध्यक्ष दीपक सुवेदीमाथि स्थानीय भूपेन्द्र गिरीले रड प्रहार गर्न खोजेका छन्।
वडाध्यक्ष सुवेदीका अनुसार, गिरीले पोखरी क्षेत्रमा संरचना निर्माण नगर्न एक हप्तादेखि आग्रह गरिए पनि अटेर गर्दै निर्माण कार्य जारी राखेका थिए। शनिबार नगर प्रहरीसहित उक्त स्थानमा पुग्दा गिरीले आफूलाई रड प्रहार गर्न खोजेको सुवेदीले बताएका छन्। तर, स्थानीयले समयमै इन्टरभेन्शन गरी गिरीको हात समातेर घटना नियन्त्रणमा लिएको उनको भनाइ छ।
उक्त पोखरी पोखरा–२१ निर्मलपोखरीस्थित बाँझी पोखरी हो, जसलाई हिउँदमा गाई–भैंसीलाई पानी खुवाउन प्रयोग गरिन्थ्यो।
घटनापछि वडाध्यक्ष सुवेदीले आइतबार वडा प्रहरी कार्यालय बैदाममा निवेदन दिएका छन् र भूपेन्द्र गिरीविरुद्ध कानुनी कारबाहीको माग गरेका छन्।