ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा शनिबार एकैदिन सात हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन्। दसैँ र तिहारपछिको समयमा यति ठूलो सङ्ख्यामा दर्शनार्थी पुगेको यो पहिलोपटक हो।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार मन्दिरमा आज मात्र ७,१४६ जना भक्तजन पुगेका छन्। समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार चिसो मौसमका बाबजुद यसरी ठूलो सङ्ख्यामा भक्तजनको उपस्थिति उल्लेखनीय रहेको छ।
तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिरमा जाडो मौसममा सामान्यतः भक्तजनको आगमन कम हुने गरेको बताइएको छ। तर, यसपालि पनि केही विवाद, बन्द र केबलकार निर्माणसम्बन्धी अन्योलका बाबजुद दर्शनार्थीको उपस्थिति उल्लेखनीय रहेको निर्देशक हाङबाङले बताए।
उनले केबलकार निर्माण कार्यले भक्तजनको आगमनमा कुनै प्रभाव नपारेको स्पष्ट पार्दै पाथीभरा आउन इच्छुक श्रद्धालुहरूलाई अन्योलमा नपर्न आग्रह गरे।
यसैबीच, पाथीभरा क्षेत्रमा सिजनको समयमा भक्तजनको भीड हुने भएकाले मन्दिर क्षेत्र विकास समितिले कुनै समस्या परेमा समितिसँग वा स्थानीय सुरक्षा निकायसँग सम्पर्क र समन्वय गर्न सबैलाई अनुरोध गरेको छ।